हुथी विद्रोहीको आक्रमणमा १४ यमनी सैनिकको मृत्यु


काठमाडाैँ । यमनको इरान समर्थित हुथी विद्रोहीहरूले लाल सागर (रेड सी) को तटीय क्षेत्रमा रहेको होडैडा बन्दरगाह नजिकै गरेको आक्रमणमा १४ सैनिक मारिएका छन् । अन्तर्राष्ट्रिय मान्यता प्राप्त सरकारसँग निकट सैन्य अधिकारीले आइतबार घटनाको पुष्टि गरेका छन् ।
सरकार समर्थक फौजले होडैडाको दक्षिणको हेय्स जिल्लामा शनिबार बिहानको समयमा ‘केही घण्टासम्म चलेको झडप’ पछि आक्रमणलाई साम्य पार्न सफल भएको त्यहाँको प्रशासनले जनाएको छ।
विद्रोहीहरूले यमनको राजधानी सानालगायत उत्तरको ठूलो भाग र पश्चिमी रेड सी तटमा रहेको होडैडा नियन्त्रणमा राखेका छन् भने अन्तर्राष्ट्रिय रूपमा मान्यता प्राप्त सरकारले दक्षिणको ठूलो भागमा शासन गर्दै आएको छ।
दुवै पक्षबिचको लडाई सन् २०२२ मा संयुक्त राष्ट्रसङ्घले मध्यस्थता गरेको युद्धविरामपछि ठूलो रूपमा रोकिएको थियो ।
शुक्रबार हुथी विद्रोहीहरूले एक्कासी साउदी अरबका विमानस्थल र महत्वपूर्ण सम्पत्तिहरूलाई लक्षित गर्ने चेतावनी दिएका थिए । साउदी अरब यमनको अन्तरराष्ट्रिय मान्यताप्राप्त सरकारको प्रमुख समर्थक हो । सन् २०१५ पछि हुथी समूहले सानालगायत देशको ठूलो भाग कब्जा गरी सत्ता कब्जा गर्न थालेपछि साउदी अरब नेतृत्वको सैन्य गठबन्धनले यमनमा हुथीविरुद्धको लडाइँमा सहयोग पुर्याएको थियो ।
इरानको ‘प्रतिरोधको एकाइ’ को भाग मानिने यो विद्रोही समूह इजराइल र अमेरिकाविरुद्ध इरानको पक्षमा छ । उनीहरूले साउदी अरबले एउटा इरानी विमान अवतरण गर्न रोक्न खोजेको आरोप लगाएका छन् ।























