सीमा बन्द र पश्चिम एसिया तनावले अफगानिस्तानको अटो व्यापार प्रभावित


काठमाडाैँ । अफगानिस्तानको दक्षिणी सीमावर्ती व्यापारिक केन्द्रस्पिन बोल्दाकमा गाडीका पार्टपुर्जा आयात–व्यापार क्षेत्रीय द्वन्द्वका कारण ठप्प भएको छ । कन्दाहार प्रान्तमा लामो समयदेखि फस्टाउँदै आएको यो व्यापार पाकिस्तानसँगको सीमा बन्द र पश्चिम एसियाको तनावले गम्भीर रूपमा प्रभावित भएको हो ।
पाकिस्तानसँगको सीमापार हिंसापछि अक्टोबरदेखि सीमा लगभग पूर्ण रूपमा बन्द हुँदा आयात मार्ग अवरुद्ध भएको थियो । विकल्पका रूपमा इरानको बन्दर अब्बास हुँदै तथा संयुक्त अरब इमिरेट्समार्फत ढुवानी गरिए पनि पछिल्लो पश्चिम एसिया युद्धपछि ती मार्ग पनि प्रभावित भएका छन्।
व्यवसायी भन्छन्, पश्चिम एसियामा तनाव बढेपछि इरान वरपरको व्यापार मार्ग तथा ‘स्ट्रेट अफ हर्मुज’ हुँदै हुने ढुवानी पनि प्रभावित भएको छ, जसले सङ्कट अझ गहिरो बनाएको छ।
ढुवानी कम्पनीका अनुसार युएइको प्रमुख व्यापारिक केन्द्र जेबेल अली बन्दरगाहमा ढिलाइ बढ्दै गएको छ । यसका कारण जापान र युएइबीचको नियमित आपूर्ति प्रणालीसमेत प्रभावित भई अवरुद्ध भएको छ।
स्थानीय व्यवसायीका अनुसार कन्टेनर लागत दुई हजार अमेरिकी डलरबाट बढेर आठहजार डलरसम्म पुगेको छ भने धेरै कन्टेनर युएइ र जापानमै अड्किएका छन्। विश्व बैङ्कले अफगानिस्तानलाई बाह्य आर्थिक झट्काको उच्च जोखिममा रहेको देश भन्दै आयात–निर्यात असन्तुलन बढ्दै गएको चेतावनी दिएको छ।
स्पिन बोल्दाक बजारमा काम गर्ने हजारौँ मजदुर र व्यापारी प्रभावित भएका छन् । कार निर्माण, मर्मत र बिक्रीसम्बन्धी गतिविधि रोकिएपछि धेरैले रोजगारी गुम्ने जोखिम सामना गरिरहेका छन्। व्यवसायीले क्षेत्रीय तनाव समाधान भई अन्तरराष्ट्रिय जलमार्ग र सीमा मार्ग पुनः खुल्ने आशा व्यक्त गरेका छन्।
























