प्रबास

एन्थ्रोपिकको कोडिङ टुल प्रयोग गर्न अलिबाबाका कर्मचारीलाई रोक

एजेन्सी
२०८३ असार २१ | मध्यान्ह ०२:०३ बजे

बेइजिङ । चिनियाँ प्रविधि कम्पनी अलिबाबाले आफ्ना कर्मचारीलाई कामका क्रममा अमेरिकी एआई कम्पनी एन्थ्रोपिकको क्लाउड कोड प्रयोग गर्न प्रतिबन्ध लगाएको छ । चीनसँग सम्बन्धित प्रयोगकर्तालाई पहिचान गर्न सक्ने केही विशेषताबारे विवाद उत्पन्न भएपछि यस्तो निर्णय गरिएको एक जानकार स्रोतले रोयटर्सलाई बताएको हो ।

यो निर्णय अमेरिकी एआई कम्पनी एन्थ्रोपिक र अलिबाबाबिच बढ्दो विवादका बिच आएको हो । एन्थ्रोपिकले अलिबाबा माथि आफ्नो क्लाउड एआई मोडलको क्षमता अवैध रूपमा नक्कल (डिस्टिलेसन) गरेर आफ्नै मोडललाई तालिम दिएको आरोप लगाएको छ ।

अमेरिका र चीनबिच कृत्रिम बौद्धिकता (एआई) को क्षेत्रमा को अघि जाने भन्ने होड चलिरहेको समयमा अलिबाबाले यो कदम चालेको हो । क्लाउड कोड सफ्टवेयर विकासकर्ताका लागि तयार गरिएको एआईमा आधारित कोडिङ सहायक हो ।

एन्थ्रोपिकले चीनमा यसको पहुँच सीमित गरेको भए पनि त्यहाँका धेरै प्रोग्रामरबिच यो लोकप्रिय बनेको छ । स्रोतका अनुसार अलिबाबाले आफ्ना कर्मचारीलाई अब कम्पनीकै एआई कोडिङ प्लेटफर्म कोडर प्रयोग गर्न निर्देशन दिएको छ ।

यस विषयमा रोयटर्सले राखेको जिज्ञासाको अलिबाबा र एन्थ्रोपिक दुवैले कुनै उत्तर दिएका छैनन् । एन्थ्रोपिकले लगाएको आरोपबारे अलिबाबाले सार्वजनिक रूपमा कुनै बयान दिएको छैन ।

गत महिना एन्थ्रोपिकले दुई अमेरिकी सिनेटरलाई पठाएको पत्रमा अलिबाबाले डिस्टिलेसन प्रयास गरेको दाबी गरेको थियो । शक्तिशाली एआई मोडलले उत्पादन गरेका उत्तरहरूको आधारमा अर्को तुलनात्मक रूपमा कम क्षमताको मोडललाई तालिम दिने प्रक्रियालाई डिस्टिलेसन भनिन्छ ।

एन्थ्रोपिकका अनुसार यसले चीनलाई आफ्ना उन्नत एआई क्षमतासँग छिटो प्रतिस्पर्धा गर्न सहयोग पुर्याउन सक्छ ।

कमेन्टहरु