हेटौँडा कपडा उद्योग पुनः सञ्चालनका निम्ति सेनाले गर्दै छ परीक्षण उत्पादनको काम

नवलपुर टुडे
२०८३ असार २० | मध्यान्ह ०८:०३ बजे

काठमाडौं । उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयका सचिव कृष्णबहादुर राउतले हेटौँडा कपडा उद्योग पुनः सञ्चालनका निम्ति नेपाली सेनाबाट परीक्षण उत्पादनको कार्य अघि बढाइएको बताएका छन् । वर्तमान सरकारका १०० दिन पुगेको अवसरमा शनिबार (असार २०) सिंहदरबारमा आयोजित पत्रकार सम्मेलनका क्रममा उनले यस्तो बताएका हुन् ।
सरकारले हेटौँडा कपडा उद्योग पुनः सञ्चालन गर्ने निर्णय गरिसकेको छ । सरकारको यो निर्णयसँगै अर्थ मन्त्रालयबाट बजेट निकासा भइसकेको पनि सचिव राउतले जानकारी दिए ।
“…नेपाल सरकारको यो स्वीकृति प्राप्तपश्चात् अर्थ मन्त्रालयबाट बजेटको पनि निकासा भइसकेको हुनाले नेपाली सेनाबाट परीक्षण उत्पादनको कार्य अघि बढिरहेको छ,” उनले भने ।
पछिल्लो समयमा सात बन्द भएका अथवा रुग्ण उद्योगको सम्पत्ति तथा दायित्वको मूल्यांकन कार्य (डीडीए) रिपोर्ट बनाउने काम भइरहेको पनि उनले बताए । कसरी सञ्चालन गर्ने भन्ने बारेमा डीडीए रिपोर्ट आएपछि मात्र तय हुने उनले स्पष्ट पारे । न्युज एजेन्सी नेपाल























