कांग्रेसमा ‘ह्वीप’पछि वाग्मती प्रदेशको बजेट बहुमतले पारित


हेटौँडा । वाग्मती प्रदेश सरकारले आउँदो आर्थिक वर्ष २०८३/८४ का निम्ति ल्याएको ६६ अर्ब ९३ करोड ३३ लाख रुपैयाँको बजेट शनिबार (असार २०) प्रदेशसभाबाट बहुमतले पारित गरिएको छ । सत्तारूढ दलभित्रै बजेटका विषयमा मतभेद चुलिएको र नेपाली कांग्रेसले आफ्ना सांसदलाई ‘ह्वीप’ जारी गर्नुपरेको परिस्थितिबीच यो पारित गरिएको हो ।
बैठकमा आर्थिक मामिला तथा योजनामन्त्री प्रभात तामाङले प्रदेश आर्थिक विधेयक, २०८३ लाई पारित गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गरेका थिए । वाग्मती प्रदेशसभाकी उपसभामुख अप्सरा चापागाईंले त्यसलाई निर्णयार्थ प्रस्तुत गरेकी थिइन् । यही असार १ गते मन्त्री तामाङले प्रदेशसभामा बजेट प्रस्तुत गरेका थिए । बजेटमाथि असार १६ देखि निरन्तर छलफल गरिएको थियो । छलफलका क्रममा सत्तापक्षकै केही सांसदले बजेट वितरण, योजना छनोट र प्राथमिकतामाथि असन्तुष्टि जनाएका थिए ।
सांसदका प्रश्नको जवाफ दिने क्रममा मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले आउँदो आर्थिक वर्षको बजेट सरकारको नीति तथा कार्यक्रमअनुरूप तयार गरिएको स्पष्ट पारे । बजेट कुनै व्यक्ति, समूह वा क्षेत्रलक्षित नभई प्रदेशको समग्र आवश्यकता, नीति र विकास प्राथमिकतालाई केन्द्रमा राखेर निर्माण गरिएको उनको भनाइ थियो ।
प्रदेश सरकारको मुख्य लक्ष्य गरिबी न्यूनीकरण, उत्पादन वृद्धि, रोजगारी सिर्जना तथा पूर्वाधार विकास रहेको उनले उल्लेख गरे । बजेटको केन्द्रमा गरिब, विपन्न र सीमान्तकृत समुदाय रहेका उनले बताए । बजेट कार्यान्वयनमा ढिलाइ नहुने भन्दै मुख्यमन्त्री बानियाँले साउन महिनाको सुरुदेखि नै आवश्यक कार्यविधि स्वीकृत गरी ठेक्का प्रक्रिया अघि बढाइने जानकारी दिए ।
विकास निर्माणका अधिकांश आयोजना वर्षायामपछि तीव्र रूपमा कार्यान्वयन गरिने उनले बताए । हिउँदको अनुकूल मौसमलक्षित गरेर निर्माण कार्य सम्पन्न गर्ने रणनीति सरकारले अपनाएको उनले जानकारी दिए ।























