राष्ट्रियसभा बैठक : बाढी पहिरोले अवरुद्ध राजमार्ग तत्काल सञ्चालनमा ल्याउन माग


काठमाडौँ । राष्ट्रियसभाको आजको बैठकको शून्य समयमा सांसदहरूले मनसुनका कारण बाढी पहिरोबाट अवरुद्ध भएका राजमार्ग र सडक यथाशीघ्र सञ्चालनमा ल्याउन सरकारसँग माग गरेका छन् । उनीहरुले मुलुकका विभिन्न राजमार्ग तथा सडक बाढीपहिरोका कारण अवरुद्ध हुँदा जनजीवन प्रभावित भएको भन्दै तत्काल मर्मतसम्भार गरी यातायात सहज बनाउन आग्रह गरे ।
सांसद गोमादेवी तिमिल्सिनाले वर्षायाममा नागरिक जोखिमपूर्ण यात्रा गर्न बाध्य भएको उल्लेख गर्दै मुख्य राजमार्गका अवरोध तत्काल हटाउन सरकारको ध्यानाकर्षण गराए । उनले मुग्लिन–नारायणगढ–काठमाडौं, डोटी र बैतडी क्षेत्रमा भइरहेका सडक दुर्घटनाप्रति सरकार गम्भीर बन्नुपर्नेमा जोड दिए ।
सांसद नरबहादुर विष्टले सुर्खेत–कालीकोट रुटमा सञ्चालन भइरहेको सार्वजनिक यातायात दैलेखमा हराएको घटनाको आवश्यक छानबिन गरी सत्यतथ्य सार्वजनिक गर्न सरकारसँग माग गरे । सांसद नारायणदत्त मिश्रले सरकारले रासायनिक मल डिएपी महँगो मूल्यमा खरिद गरेको हो कि ? भन्ने प्रश्न उठाउँदै नेपाल र भारतबिच खरिद मूल्यमा देखिएको अन्तरबारे छानबिन हुनुपर्ने माग गरे ।
सांसद युवराज शर्माले काठमाडौँ उपत्यकामा मेलम्चीको खानेपानी वितरण अवरुद्ध भएकाले नियमित खानेपानी आपूर्तिको व्यवस्था गर्न सरकार अग्रसर हुनुपर्ने धारणा राखे । सांसद सुरेशकुमार आले मगरले सरकारले सांसदहरूले उठाएका प्रश्नको जवाफ नदिएको भन्दै आजको बैठकमा आफूले कुनै जिज्ञासा नराखेको बताए ।
























