धनगढीबाट बैतडी जाँदै गरेको बस दुर्घटना, १९ जना घाइते


बैतडी । बैतडीमा शुक्रबार दिउँसो भएकाे यात्रुवाहक बस दुर्घटनामा १९ जना घाइते भएका छन्। धनगढीबाट बैतडी सदरमुकामतर्फ जाँदै गरेको सु.प.प्र. ०१–००१ ख ३९६३ नम्बरको बस दशरथचन्द राजमार्गअन्तर्गत पाटन नगरपालिका–८ गैराखान क्षेत्रमा शुक्रबार दिउँसो दुर्घटनामा परेको हो।
जिल्ला प्रहरी कार्यालय बैतडीका सूचना अधिकारी प्रहरी निरीक्षक भुवन तिमल्सिनाका अनुसार बस सडकबाट करिब ६० मिटर तल खसेको थियो। दुर्घटनामा १९ जना यात्रु घाइते भएकोमा दुई जनाको अवस्था गम्भीर रहेको छ।
घाइतेहरूको उद्धार गरी थप उपचारका लागि डडेल्धुरा अस्पताल पठाइएको प्रहरीले जनाएको छ। सुरूमा १७ जना घाइते रहेको भनिएपनि पछि थप दुई जना घाईते फेला परेका हुन्। दुर्घटनामा परेर गम्भीर घाइते भएका मध्ये अन्दाजी ६० वर्षीय पुरुष र ५५ वर्षीया महिलाको पहिचान नखुलेको प्रहरीले जनाएकाे छ।
दुर्घटनामा परेर घाइते हुनेमा पाटन नगरपालिका– ३ का २५ वर्षीय बस चालक दिनेश भाट, अन्दाजी २५ वर्षीया दुरा बोहरा पाटन नगरपालिका वडा नम्बर ६ का ४३ वर्षीय जनकप्रसाद पन्त र ११ वर्षीय सिद्धार्थ भण्डारी दशरथचन्द नगरपालिका– ४ शाहीलेकका सागर ठगुन्ना ४५ वर्षीय निर्मला कार्की दशरथचन्द नगरपालिका– २ का नरेश लावड रहेको बैतडी प्रहरीले जनाएको छ।
यस्तै पुर्चौडी नगरपालिका –८ की ३५ वर्षीया रत्नाकुमारी भण्डारी, पुर्चौडी– १ की अनुग्राकुमारी ठगुन्ना, डडेल्धुराकी दिपा महरा, दशरथचन्द नगरपालिका– ६ की धना पहरी, ४० वर्षीय रमेश महर, १४ वर्षीय अरुण महर, सुर्नाया– २ का ४० वर्षीय पुस्कर विष्ट, २० वर्षीया माया विष्ट, पाटन– ६ का ३१ वर्षीय मोहन पन्त र दशरथचन्द– ९ का २६ वर्षीय जनकराज जोशी घाइते भएको प्रहरीले जनाएको छ।
दुर्घटनामा घाइते भएकाहरूलाई उपचारका लागि डडेल्धुरा अस्पताल पठाइएको छ। दुर्घटनाको कारण भने खुल्न बाँकी रहेको छ।























