अहिलेका एआई प्रणाली ‘वास्तवमा स्मार्ट’ छैनन् : वैज्ञानिक यान लेकुन


पेरिस । अहिले विश्वभर लोकप्रिय बनेका च्याटजिपिटी, क्लाउड र जेमिनीजस्ता कृत्रिम बौद्धिकता (एआई) प्रणालीमा मानिसजस्तो वास्तविक सोच्ने वा भौतिक संसार बुझ्ने क्षमता निकै सीमित रहेको एआई क्षेत्रका अग्रणी वैज्ञानिकहरूले बताएका छन्।
उनीहरूका अनुसार अबको एआई विकासको लक्ष्य केवल भाषा बुझ्ने प्रणाली नभई वास्तविक संसारलाई बुझ्न, कारण–परिणाम विश्लेषण गर्न र स्वतन्त्र रूपमा निर्णय लिन सक्ने नयाँ पुस्ताको एआई बनाउनु हुनुपर्छ।एआई अनुसन्धानका चर्चित वैज्ञानिक यान लेकुनले हाल प्रयोगमा रहेका ठूला भाषा मोडेल (एलएलएम)लाई ‘वास्तवमै स्मार्ट’ भन्न नमिल्ने बताएका छन्। उनका अनुसार यी प्रणाली विशाल मात्रामा जानकारी सङ्कलन र दोहोर्याउन सक्षम भए पनि वास्तविक संसारको आधारभूत बुझाइ भने राख्दैनन्।
एक दशकसम्म मेटामा प्रमुख एआई वैज्ञानिकका रूपमा काम गरेका लेकुनले सन् २०२५ मा कम्पनी छाडेर एड्भान्स्ड मेसिन इन्टेलिजेन्स ल्याब्स (एएमआई ल्याब्स) स्थापना गरेका हुन्। उनी अहिले च्याटजिपिटी, क्लाउड र जेमिनीभन्दा फरक प्रविधिमा आधारित नयाँ प्रकारको एआई विकास गरिरहेका छन्।
‘हामीसँग अहिले पनि वास्तविक संसार बुझ्न मुसाभन्दा राम्रो रोबोट छैन,’ फ्रान्सको प्रमुख प्रविधि सम्मेलन भिभाटेकका क्रममा सञ्चारकर्मीसँग कुरा गर्दै लेकुनले भने।
उनका अनुसार अहिलेका एआई प्रणाली भाषा, गणितीय समस्या समाधान, प्रोग्रामिङ तथा पाठ लेख्न निकै सक्षम भए पनि ती सबै स्पष्ट नियम भएका कार्य हुन्। तर वास्तविक संसारमा प्रत्येक निर्णयसँग अनगिन्ती सम्भावित परिणाम जोडिएका हुन्छन्, जुन अहिलेका एआई प्रणालीले बुझ्न सक्दैनन्।
‘यी प्रणालीले जानकारी सङ्कलन गरेर दोहोर्याउन सक्छन्। तर त्यसको वास्तविक अर्थ बुझ्दैनन्। त्यसैले यिनलाई वास्तवमै बुद्धिमान भन्न सकिँदैन,’ लेकुनले भने।
वास्तविक संसार बुझ्ने एआई
लेकुनको कम्पनीले ‘जोइन्ट इम्बेडिङ प्रेडिक्टिभ आर्किटेक्चर (जेपा)’ नामक नयाँ एआई प्रणाली विकास गरिरहेको छ। यो प्रणालीले वास्तविक संसारको सार बुझ्ने प्रयास गर्छ। अर्थात् कुनै घटनाको सम्भावित परिणामबारे अनुमान गर्दा केवल तथ्याङ्कीय सम्भावना हेर्ने होइन, परिस्थितिको वास्तविक स्वरूप बुझेर निर्णय गर्ने क्षमता विकास गर्ने लक्ष्य राखिएको छ।
लेकुनले यसलाई कलमको उदाहरणबाट स्पष्ट पारे। उनका अनुसार एउटा कलमलाई ठाडो उभ्याएर छोड्दा त्यो ढल्छ भन्ने कुरा सानो बच्चाले पनि बुझ्न सक्छ। तर कुन दिशामा ढल्छ भन्ने कुरा निश्चित रूपमा भन्न सकिँदैन।
उनका अनुसार अहिलेका भाषा मोडेलले प्रशिक्षणका क्रममा सिकेका तथ्याङ्कका आधारमा कुनै एक सम्भावित उत्तर दिन खोज्छन्। तर नयाँ प्रणालीले त्यस्तो प्रश्नको निश्चित उत्तर सम्भव छैन भन्ने बुझ्ने क्षमता राख्नेछ। यसका लागि एआईले वास्तविक संसारका आवश्यक पक्ष मात्र सम्झिने र अनावश्यक विवरण हटाउने गणितीय संरचना प्रयोग गर्ने उनले बताए।
विश्वभर अहिले मानवजस्तै देखिने रोबोट निर्माणमा अर्बौं डलर लगानी भइरहेको छ। यद्यपि कपडा इस्त्री गर्ने, भाँडा मिलाउने, खाना पकाउने वा घरका सामान्य काम सुरक्षित रूपमा गर्न सक्ने रोबोट तयार पार्न अझै ठूलो चुनौती रहेको विज्ञहरू बताउँछन्।
लेकुनका अनुसार अहिलेका भाषा मोडेल रोबोट सञ्चालनका लागि उपयुक्त छैनन्।
‘रोबोटिक्सका लागि एलएलएम लगभग निरुपयोगी छन्। केवल भाषा मोडेलको आकार बढाउँदै गएर मानिसभन्दा धेरै बुद्धिमान प्रणाली तयार हुन्छ भन्ने दाबी वास्तविकता होइन,’ उनले भने।
लेकुन मात्र होइन, धेरै एआई अनुसन्धानकर्ता अहिले ‘विश्व मोडेल’ (वर्ल्ड मोडेल) भनिने नयाँ अवधारणामा केन्द्रित हुन थालेका छन्।
अक्सफोर्ड विश्वविद्यालयको अनुप्रयुक्त कृत्रिम बौद्धिकता प्रयोगशालाका निर्देशक इङ्गमार पोस्नरका अनुसार भविष्यको एआईले केवल उत्तर दिने मात्र होइन, ‘किन यस्तो भयो?’, ‘कुन कुरा महत्त्वपूर्ण छ?’ र ‘अर्को निर्णय लिइएको भए के हुन्थ्यो?’ भन्ने प्रश्नको पनि उत्तर दिन सक्नुपर्छ।
उनका अनुसार एआईले ज्ञानलाई व्यवस्थित रूपमा सङ्गठित गर्न, आवश्यक बेला सम्झिन, नयाँ परिस्थितिसँग जोड्न र परिमार्जन गर्न सक्ने क्षमता विकास गर्नुपर्छ। उनको नेतृत्वको टोली विगत चार वर्षदेखि यस्तै प्रकारको एआई विकासमा जुटिरहेको छ। उनीहरूले विकास गरिरहेको प्रणालीलाई ‘मेकानिस्टिक वर्ल्ड मोडेल’ नाम दिएका छन्।
विश्व मोडेलसम्बन्धी अनुसन्धान अहिले विश्वका प्रमुख प्रविधि कम्पनीले पनि गरिरहेका छन्। गुगलको डीपमाइन्डले ‘जेनी’ नामक प्रणाली विकास गरिरहेको छ भने बेलायतको वेभले ‘गाइया’ प्रणालीमा काम गरिरहेको छ। गत वर्ष गुगलको ‘ड्रिमर’ नामक विश्व मोडेलको एक संस्करणले ‘माइनक्राफ्ट’ भिडियो खेलमा भविष्यका सम्भावित अवस्थाको कल्पना गर्दै हिरा सङ्कलन गर्न सफल भएको थियो। त्यस्तै एआई क्षेत्रकी अग्रणी वैज्ञानिक फेइ–फेइ लीले सन् २०२३ मा ‘वर्ल्ड ल्याब्स’ स्थापना गरेर नयाँ पुस्ताको एआई विकास सुरु गरेकी छन्।
लेकुनको कम्पनी एएमआई ल्याब्सले यस वर्ष एक अर्ब अमेरिकी डलरभन्दा बढी प्रारम्भिक लगानी जुटाइसकेको छ। लगानीकर्तामध्ये एनभिडिया तथा जेफ बेजोसको निजी सम्पत्ति व्यवस्थापन गर्ने कोषसमेत रहेका छन्। यो प्रारम्भिक लगानी युरोपमै सबैभन्दा ठूलोमध्ये एक मानिएको छ।
लेकुनका अनुसार यस वर्ष कम्पनीले आफ्नो नयाँ एआई प्रणालीलाई अझ परिष्कृत गर्नेछ भने आगामी वर्षदेखि उद्योग क्षेत्रमा यसको प्रयोग सुरु गर्ने योजना छ। प्रारम्भिक प्रयोग सफल भए त्यसपछि यसलाई विभिन्न क्षेत्रमा विस्तार गरिनेछ।
भविष्यमा रोबोट र एआई प्रणाली मानिसभन्दा बढी सक्षम भए पनि मानिसको भूमिका समाप्त नहुने लेकुनको विश्वास छ। उनका अनुसार नयाँ प्रश्न उठाउने, सिर्जना गर्ने, नयाँ अवधारणा विकास गर्ने र समाजलाई कुन दिशामा अघि बढाउने भन्ने निर्णय गर्ने काम मानिसकै रहनेछ।
‘भविष्यमा एआई हामीभन्दा धेरै बुद्धिमान भए पनि त्यससँगको हाम्रो सम्बन्ध कुनै उद्योगपति वा राजनीतिक नेताले आफ्ना सक्षम सहयोगीसँग गर्ने सम्बन्धजस्तै हुनेछ। अन्तिम निर्णय भने मानिसकै हुनेछ र एआईले मानिसका लागि काम गर्नेछ,’ उनले भने।























