दुबई यूएई, देश, प्रबास, विश्व

यूएई लटरीबाट रु. १ अर्ब २३ करोड जितेका रकम पाँचै जनाले नेपालमा लगानी गर्ने तयारी

कबिराज राजबंशी
२०८३ असार १९ | बिहान ११:०३ बजे

FB IMG 1783055697483 1

अबुधाबी। संयुक्त अरब इमिरेट्स (यूएई) मा सञ्चालन भइरहेको The UAE Lottery मार्फत ३० मिलियन दिराम (करिब रु. १ अर्ब २३ करोड) को भाग्यशाली पुरस्कार जित्ने पाँच नेपाली युवाले शुक्रबार नेपाली राजदूतावास, अबुधाबीमा महामहिम राजदूत तेजबहादुर क्षेत्रीसँग सामूहिक भेट गरेका छन्।

 

भाग्यशाली पुरस्कार विजेताहरूमा गोर्खाका तैयव खान, पाल्पाका सन्दीप बि.क., नवलपुरका युवराज गैरे, कास्कीका शिशिर पौडेल र रुपन्देहीका सुदीप न्यौपाने रहेका छन्।

 

भेटका क्रममा उनीहरूले लटरीबाट प्राप्त रकमलाई वैधानिक रूपमा नेपाल पठाई स्वदेशमै लगानी गर्ने इच्छा व्यक्त गरेका थिए। साथै, उक्त रकम कानुनी प्रक्रिया पूरा गरी नेपाल भित्र्याउन आवश्यक सहजीकरण तथा नेपाल सरकारसँग समन्वयका लागि दूतावासको सहयोगको अपेक्षा गरेको बताएका छन्।

 

महामहिम राजदूत क्षेत्रीले विजेताहरूलाई नेपालमा उपलब्ध विभिन्न लगानीका सम्भावनाबारे अध्ययन गरी देशको विकास र समृद्धिमा योगदान पुग्ने क्षेत्रमा लगानी गर्न सुझाव दिएका थिए। साथै, प्राप्त रकमलाई वैधानिक रूपमा नेपाल पठाउने प्रक्रियामा नेपाली राजदूतावासबाट आवश्यक सहयोग उपलब्ध गराइने विश्वास दिलाएका छन्।

 

भेटघाटमा प्रभु बैंकका यूएई प्रतिनिधि प्रकाश पौडेल, पत्रकार उमाकान्त पाण्डे तथा नेपाल उद्योग वाणिज्य महासंघका सचिव केदारनाथ अधिकारीको समेत उपस्थिति रहेको थियो।

कमेन्टहरु