कङ्गोमा घातक इबोला भाइरस विरुद्धको उपचार परीक्षण सुरु


जेनेभा । डेमोक्रेटिक रिपब्लिक अफ कङ्गो (डीआरसी) मा फैलिरहेको घातक इबोला भाइरसको नयाँ स्ट्रेन विरुद्ध सम्भावित उपचारको परीक्षण सुरु भएको छ।
विश्व स्वास्थ्य सङ्गठन (डब्लुएचओ) का प्रमुख टेड्रोस अधानोम गेब्रेयससले बिहीबार कङ्गोमा पहिलो बिरामीलाई यस परीक्षणमा समावेश गरिएको जानकारी दिए। डब्लुएचओका अनुसार कङ्गोमा मात्रै अहिलेसम्म १,४०० भन्दा बढीमा सङ्क्रमण पुष्टि भइसकेको छ भने ४३८ जनाको मृत्यु भइसकेको छ।
अत्यन्तै सङ्क्रामक मानिने यस इबोला रोगको ‘बुन्डिबुग्यो’ भाइरस स्ट्रेनका लागि हालसम्म कुनै पनि स्वीकृत खोप वा उपचार उपलब्ध छैन। अहिले भइरहेको क्लिनिकल परीक्षण डब्लुएचओको आर्थिक सहयोगमा भइरहेको छ, जसलाई कङ्गोको इन्स्टिच्युट नेसनल डे रेचेर्चे बायोमेडिकल, बेल्जियमको इन्स्टिच्युट अफ ट्रपिकल मेडिसिन र बेलायतको अक्सफोर्ड विश्वविद्यालयका वैज्ञानिकहरूले समन्वय गरिरहेका छन्।
जेनेभास्थित डब्लुएचओको मुख्यालयबाट पत्रकारहरूसँग कुरा गर्दै टेड्रोसले पहिलो बिरामीको भर्नासँगै दुईवटा उपचारात्मक विधिहरूको क्लिनिकल परीक्षण सुरु भएको बताए। उनले भने, ‘स्वीकृत उपचार बिना पनि मानिसहरू यस रोगबाट निको भइरहेका छन्, तर यदि हाम्रो उपकरणमा सुरक्षित र प्रभावकारी उपचार विधि उपलब्ध भयो भने हामीले अझ धेरैको ज्यान जोगाउन सक्छौँ ।’
कङ्गो र युगान्डामा गत मे महिनादेखि सुरु भएको इबोलाको यो प्रकोपलाई डब्लुएचओले जनस्वास्थ्य आपत्काल घोषणा गरिसकेको छ। डब्लुएचओको जुन ३० सम्मको तथ्याङ्क अनुसार कङ्गोमा १,४०६ जनामा सङ्क्रमण पुष्टि भएको छ भने ३०१ जना शङ्कास्पद बिरामी छन्। त्यस्तै, जुलाई १ सम्मको विवरण अनुसार युगान्डामा २० जनामा सङ्क्रमण पुष्टि हुँदा दुई जनाको मृत्यु भएको छ भने फ्रान्समा पनि एक जना सङ्क्रमित फेला परेका छन्।
यो रोग भाइरसका कारण लाग्ने गर्छ जसले शरीरको प्रतिरक्षा प्रणाली र अङ्गहरूमा सीधा आक्रमण गर्छ। यो भाइरस सामान्यतया जनावरहरूमा, खासगरी चमेरो (फ्रुट ब्याट) मा पाइन्छ। तर मानिसहरूले सङ्क्रमित जनावरहरू चलाउँदा वा तिनीहरूको सम्पर्कमा आउँदा कहिलेकाहीँ मानिसहरूमा पनि यसको महामारी सुरु हुन सक्छ। सङ्क्रमित व्यक्तिमा लक्षणहरू देखिएपछि मात्र यो रोग अरूमा सर्ने गर्छ।
यसको लक्षण देखिन २ देखि २१ दिनसम्म लाग्छ। यसको सुरुवात अचानक ज्वरो आउने, टाउको दुख्ने र अत्यधिक थकाइ लाग्ने जस्ता फ्लु वा मलेरियाका लक्षणहरूबाट हुन्छ। इबोलाका जम्मा ६ वटा प्रजातिहरू छन्, जसमध्ये तीनवटाले मात्र महामारी फैलाउने गरेको पाइएको छ। वैज्ञानिकहरूका अनुसार इबोलाका प्रत्येक छुट्टाछुट्टै प्रजातिका लागि छुट्टै खोपको विकास गर्न आवश्यक हुन्छ।























