दुबई यूएई, प्रबास, विश्व

अबुधाबीमा इतिहाद रेलको निःशुल्क शटल बस सेवा सञ्चालन

कबिराज राजबंशी
२०८३ असार १९ | बिहान ०५:०३ बजे

Screenshot 2026 07 03 03 39 53 84 b20684c6634e2ccf1ee7fe843edae248

प्रवास दुवई, यूएई | यूएईको राष्ट्रिय रेल सेवा इतिहाद रेलले आजदेखि अबुधाबीमा आफ्ना यात्रुका लागि निःशुल्क शटल बस सेवा सञ्चालनमा ल्याएको छ। यो सेवाको उद्देश्य रेल यात्रालाई अझ सहज, व्यवस्थित र प्रभावकारी बनाउनु रहेको कम्पनीले जनाएको छ।

नयाँ शटल सेवा अन्तर्गत अबुधाबीको रेल स्टेशनलाई राजधानीका विभिन्न प्रमुख गन्तव्य, आवासीय क्षेत्र तथा महत्वपूर्ण स्थानहरूसँग जोडिएको छ। यात्रुले रेलबाट ओर्लिएपछि वा रेल चढ्नुअघि अतिरिक्त शुल्क नतिरी शटल बसमार्फत आफ्नो गन्तव्यसम्म सहज रूपमा यात्रा गर्न सक्नेछन्।

शटल बसहरू रेलको आगमन तथा प्रस्थान समयसँग समन्वय गरेर सञ्चालन गरिने भएकाले यात्रुलाई लामो समय पर्खिनुपर्ने अवस्था नआउने विश्वास गरिएको छ। यस सेवाले सार्वजनिक यातायातको प्रयोगलाई प्रोत्साहन गर्नुका साथै निजी सवारीसाधनमा निर्भरता घटाउन पनि सहयोग पुग्ने अपेक्षा गरिएको छ।

यात्रुले शटल बसको रुट, सञ्चालन समय, स्टपेज तथा बुकिङसम्बन्धी सम्पूर्ण जानकारी Etihad Rail को आधिकारिक वेबसाइट र मोबाइल एपमार्फत प्राप्त गर्न सक्नेछन्।

यूएई सरकारले देशभर आधुनिक, दिगो र एकीकृत सार्वजनिक यातायात प्रणाली विस्तार गर्ने योजनाअन्तर्गत सुरु गरिएको यो सेवा राजधानी अबुधाबीका रेल यात्रुका लागि महत्वपूर्ण सुविधा हुने विश्वास गरिएको छ।

कमेन्टहरु