राजनीति

पूर्णबहादुर खड्काले आफ्नो निवासमा बोलाए इतर समूहको बैठक

नवलपुर टुडे
२०८३ असार १८ | मध्यान्ह ०४:०३ बजे

काठमाडौँ । नेपाली कांग्रेसका निवर्तमान कार्यवाहक सभापति पूर्णबहादुर खड्काले पूर्वसभापति शेरबहादुर देउवा समूहको बैठक बोलाएका छन् ।

खड्काले गोल्फुटारस्थित आफ्नो निवासमा शुक्रबारका लागि निवर्तमान पदाधिकारी र वरिष्ठ नेताहरूको बैठक बोलाएको देउवा समूहका नेता डा. प्रकाशशरण महतले जानकारी दिए । यसअघि सातै प्रदेशमा भेला सकेको देउवा समूहले ती भेलाको समीक्षा गर्ने समीक्षा गर्ने, विषेश महाधिवेशनपछि पार्टीभित्र देखिएको विवाद समाधानमा संस्थापनले तदारुकता नदेखाएपछि कसरी अगाडि बढ्ने भन्ने रणनीति तय गर्न बैठक आह्वान भएको नेता डा. महतले बताए ।

काठमाडौँको चुनदेवीमा १५ औँ महाधिवेशन तयारीका लागि ‘सम्पर्क कार्यालय’ निश्चित गरेकोले औपचारिकता कहिले दिने भन्ने विषयमा पनि बैठकमा कुराकानी हुनेछ । सम्पर्क कार्यालयमा अहिले रंगरोगन बाँकी रहेकाले खड्का निवासमा शुक्रबारको बैठक बस्न लागेको डा.महतले बताए ।

आज मात्रै देउवा समूहका नेताहरू विमलेन्द्र निधि, डा. शशाङ्क कोइराला र प्रकाशमान सिंहबिच मध्य वानेश्वरस्थित निधि निवासमा भेटघाट भएको छ ।

कमेन्टहरु