प्रबास

भेनेजुएलामा चमत्कार : भूकम्पको ६ दिनपछि भग्नावशेषबाट ३ वर्षीय बालकको जीवितै उद्धार

एजेन्सी
२०८३ असार १७ | मध्यान्ह १२:०३ बजे

काराकास । विनाशकारी भूकम्प गएको ६ दिनपछि भेनेजुएलामा एक तीन वर्षीय बालकलाई भग्नावशेषबाट जीवितै उद्धार गरिएको छ । जोर्डनको उद्धार टोलीले दिएको जानकारी अनुसार ला गुइरा राज्यको भग्नावशेषबाट ती बालकलाई सुरक्षित रूपमा बाहिर निकालिएको हो ।

देशका अन्तरिम राष्ट्रपतिले क्लिबर मोरन नाम दिएका ती बालकलाई बाहिर निकाल्दै गर्दा उद्धारकर्मीहरूले खुसीयाली मनाएको भिडियो सार्वजनिक भएको छ । डेल्सी रोड्रिगेजले यस उद्धारलाई एउटा आशाको क्षण भनी वर्णन गरेकी छिन् ।

भूकम्प गएको सुरुवाती तीन दिनभित्र भग्नावशेषमा थुनिएका मानिसहरू जीवितै भेटिने सम्भावना बढी हुने विज्ञहरू बताउँछन् । तर, यो उद्धार सो अवधिभन्दा धेरै ढिलो गरी भएको हो । जोर्डनको नागरिक रक्षा टोलीका अनुसार क्लिबरलाई प्राथमिक उपचारपछि अस्पताल लगिएको छ र उनको स्वास्थ्य अवस्था सामान्य छ ।

भेनेजुएला एसेम्बलीका अध्यक्ष जर्ज रोड्रिगेजले बालकको राजधानी काराकासमा उपचार भइरहेको बताएका छन् । ला गुइरा भूकम्पबाट सबैभन्दा बढी प्रभावित क्षेत्रमध्ये एक हो, जहाँ स्थानीय मानिसहरू आफैँ पनि उद्धार कार्यमा जुटिरहेका छन् ।

गत हप्ता ७.२ र ७.५ म्याग्निच्युडका विनाशकारी भूकम्प जाँदा मृत्यु हुनेको संख्या १,९४३ पुगेको छ । भूकम्पमा परी १० हजार भन्दा बढी मानिस घाइते भएका छन् भने हजारौँ मानिस अझै बेपत्ता छन् । नासाको भूउपग्रह तथ्याङ्कको प्रारम्भिक मूल्याङ्कन अनुसार शक्तिशाली धक्काका कारण ५८,८७० वटा भवनहरू क्षतिग्रस्त वा पूर्ण रूपमा ध्वस्त भएका छन् । यसैबीच, संयुक्त राष्ट्रसंघले हजारौँ मानिसलाई तत्काल खाना र बासस्थानको आवश्यकता रहेको चेतावनी दिएको छ ।

राष्ट्रसंघीय शरणार्थी नियोग (यूएनएचसीआर) ले मंगलबार एक विज्ञप्ति जारी गर्दै ला गुइरामा खाद्यान्नको व्यापक अभाव भएको, आधारभूत सेवाहरू ठप्प भएको र सञ्चार सम्पर्क विच्छेद भएको जनाएको छ । सहायता सामाग्रीमा पहुँच सीमित हुँदा समुदायमा तनाव बढ्दै गएको नियोगले उल्लेख गरेको छ ।

यूएनएचसीआरले भूकम्प प्रभावित ३०,००० मानिसलाई ६ महिनासम्म संरक्षण, राहत सामग्री र अस्थायी आवास सहयोग पुर्‍याउन सुरुवाती चरणमा १ करोड ५० लाख डलर आवश्यक पर्ने बताएको छ । यसैगरी, विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) ले पनि स्वास्थ्य सेवाहरू चरम दबाबमा रहेको जनाएको छ । डब्लुएचओका प्रवक्ता क्रिस्टियन लिन्डमेयरले न्यून खोप कभरेजका कारण दादुरा र भ्यागुते रोग जस्ता खोपबाट रोक्न सकिने रोगहरूको महामारी फैलिने जोखिम बढेको बताएका छन् ।

कमेन्टहरु