समाचार

प्रमाण पेस गरिए पनि कारबाही नहुँदा शिक्षा शाखाको भूमिकामाथि गम्भीर प्रश्न

देवराजा यादव
२०८३ असार १६ | मध्यान्ह ०८:०३ बजे

सुनसरी । कोशी गाउँपालिकाभित्र रहेका विद्यालयमा देखिएको भनिएको अनियमिततासम्बन्धी प्रमाण र समाचार सार्वजनिक भएको लामो समय बितिसक्दा पनि ठोस छानबिन तथा कारबाही प्रक्रिया अघि नबढेको भन्दै शिक्षा शाखाको भूमिकामाथि गम्भीर प्रश्न उठ्न थालेको छ।

पत्रकार देवराज यादवले श्री सप्तकोशी माध्यमिक विद्यालयसँग सम्बन्धित विषयमा समाचार, अडियो तथा अन्य प्रमाण सार्वजनिक गरेपछि सम्बन्धित निकायले तत्काल छानबिन गरी कानुनबमोजिम आवश्यक प्रक्रिया अघि बढाउने अपेक्षा गरिएको थियो। तर हालसम्म त्यसबारे स्पष्ट नतिजा सार्वजनिक नभएको भन्दै स्थानीयवासी र सरोकारवालाले चासो व्यक्त गरेका छन्।

शिक्षा शाखाको जिम्मेवारी विद्यालयहरूको नियमित अनुगमन गर्नु, प्राप्त उजुरीमाथि निष्पक्ष छानबिन गर्नु तथा आवश्यक परे कानुनी प्रक्रिया अगाडि बढाउनु हो। यस्ता विषयमा ढिलाइ हुनु वा प्रगति सार्वजनिक नगर्नुले शिक्षा प्रशासनको पारदर्शिता र जवाफदेहितामाथि प्रश्न उठाएको छ। यस विषयमा शिक्षा शाखा प्रमुखसँग पटक–पटक टेलिफोनमार्फत सम्पर्क गर्ने प्रयास गरिएको थियो। प्रारम्भिक रूपमा उहाँले स्पष्टीकरण मागिएको जानकारी दिनुभएको थियो।

त्यसपछि थप जानकारीका लागि गरिएको सम्पर्कमा भने प्रतिक्रिया प्राप्त हुन सकेन। श्री सप्तकोशी माध्यमिक विद्यालयसँग सम्बन्धित सार्वजनिक भएका आरोपहरूको निष्पक्ष छानबिन गरी वास्तविकता सार्वजनिक गर्न तथा आवश्यक भए कानुनबमोजिम कारबाही प्रक्रिया अघि बढाउन सरोकारवालाले माग गरेका छन्। साथै, शिक्षा शाखाले हालसम्म भएका कामकारबाहीबारे आधिकारिक धारणा सार्वजनिक गरी जनताको जिज्ञासाको सम्बोधन गर्नुपर्ने आवश्यकता देखिएको छ।

कमेन्टहरु