विद्युत् प्रवाहमा अवरोध हटाउन जनशक्तिको व्यवस्था


काठमाडौँ। सरकारले विद्युत् प्रवाहमा सन्तुलन, वितरण सञ्जाल सुदृढीकरण तथा आवश्यक प्राविधिक सुधारका लागि निरन्तर प्रयास भइरहेको स्पष्ट पारेको छ।
मनसुनको समयमा विद्युत् प्रवाहमा आउने अवरोध न्यूनीकरणका लागि जनशक्तिसहित प्राविधिक उपकरण पूर्वतयारी अवस्थामा राखिएको ऊर्जा जलस्रोत तथा सिँचाइ मन्त्रालयले जनाएको छ। ऊर्जा जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठले विद्युत् आपूर्तिमा भइरहेको असन्तुलनका बारेमा सेवाग्राहीलाई समयमै सूचना उपलब्ध गराउन तथा विद्युत् अवरोध (नो–लाइट) सम्बन्धी गुनासो तत्काल सम्बोधन गर्न झन्डै एक हजार कर्मचारी परिचालन गरिएको बताए।
गर्मी, हावाहुरी, वर्षाका कारण बेलाबेलामा विद्युत् आपूर्तिमा असन्तुलन तथा अवरोध सिर्जना हुँदै आएको छ। जीर्ण ट्रान्सफर्मरको प्रतिस्थापन, आवश्यक स्थानमा उच्च क्षमताका नयाँ ट्रान्सफर्मर जडान तथा ब्रेकर प्यानलको स्तरोन्नति लगायतका कार्यलाई उच्च प्राथमिकतामा राखिएको छ।
गर्मीको समयमा पङ्खा, एसी, फ्रिजलगायत उपकरणको एकैसाथ बढ्दो प्रयोग तथा विद्युतीय सवारीसाधन चार्जसमेत हुँदा विद्युत्को माग बढ्न जान्छ । मन्त्रालयले सेवाग्राहीलाई तत्काल सूचना उपलब्ध गराइ गुनासो समाधान गर्न नो–लाइट एकाइ, सवस्टेशन प्रमुख, प्रदेश कार्यालय प्रमुख तथा वितरण शाखाका जिम्मेवार अधिकारीलाई आवश्यक परिपत्र जारी गरिसकेको छ।
सेवाग्राहीका गुनासोप्रति बेवास्ता गर्ने, आफ्नो जिम्मेवारी पूरा नगर्न कर्मचारीमाथि प्रचलित कानुन बमोजिम आवश्यक कारबाही गरिने मन्त्रालयले स्पष्ट पारेको छ।























