छायादेवी कम्प्लेक्स विवादबारे नेवाः देय् दबूको ध्यानाकर्षण


काठमाडाैं । काठमाडौं महानगरपालिका वडा नं. २६ स्थित थँबहिल (ठमेल) को ऐतिहासिक कमलपोखरी- भगवान बहाल गुठी तथा छायादेवी कम्प्लेक्ससँग सम्बन्धित विवादबारे आदिवासी नेवाः समुदायको साझा राष्ट्रिय संगठन नेवाः देय् दबूको ध्यानाकर्षण भएको अवगत गराउन गराइएकाे छ ।
यो विवाद केवल जग्गाको स्वामित्वको विषय होइन, यो नेवा: सभ्यता, गुठी परम्परा, धार्मिक सांस्कृतिक सम्पदा, ऐतिहासिक स्मृति तथा आदिवासी समुदायको सामूहिक अधिकारसँग प्रत्यक्ष रूपमा जोडिएको राष्ट्रिय सरोकारको विषय हो भन्ने हाम्रो ठहर छ । सार्वजनिक गुठी सम्पत्तिलाई निजी स्वार्थका लागि प्रयोग गर्ने कुनै पनि प्रयासले नेपालको सांस्कृतिक सम्पदा संरक्षणको मूल मर्ममाथि आघात पुन्याउने स्पष्ट छ ।

कमलपोखरी शताब्दीयौंदेखि सिंहसार्थ बाहु भगवानसँग सम्बन्धित धार्मिक अनुष्ठान र जात्राको लागि कमलको पुष्प संकलन तथा स्थानीय समुदायका सांस्कृतिक संस्कारसँग अभिन्न रूपमा जोडिएको ऐतिहासिक सम्पदा हो । यस सम्बन्धमा वि.सं. २०३३ मा सर्वोच्च अदालतबाट गुठीको नाममा पोखरी र चोक कायम रहने गरी भएको मिलापत्र, त्यसपछिका स्वामित्वसम्बन्धी विवाद, गुठी जग्गाको निजीकरणका प्रयास तथा अभिलेख व्यवस्थापनसम्बन्धी उठेका प्रश्नहरूको निष्पक्ष कानुनी परीक्षण आवश्यक रहेको हाम्रो धारणा छ ।
नेवाः देय् दबू नेपालको संविधान, प्रचलित कानुन, गुठी व्यवस्थासम्बन्धी कानुनी व्यवस्था तथा नेपाल पक्ष राष्ट्र रहेका अन्तर्राष्ट्रिय प्रतिबद्धताअनुसार आदिवासी समुदायको सांस्कृतिक सम्पदा, गुठी परम्परा र ऐतिहासिक स्थलको संरक्षण राज्यको दायित्व भएको स्मरण गराउन चाहन्छ। विकास आवश्यक भए पनि सांस्कृतिक सम्पदा, सार्वजनिक गुठी तथा आदिवासी समुदायको पहिचान नष्ट हुने गरी गरिने विकास दिगो विकासको सिद्धान्तसँग मेल खाने कुरा हुन सक्दैन । हाल यो मुद्दा सम्मानित सर्वोच्च अदालतमा विचाराधीन रहेकाले नेवाः देय् दबू न्यायपालिकाको स्वतन्त्रता र निष्पक्षताप्रति पूर्ण सम्मान व्यक्त गर्दछ । साथै, ऐतिहासिक तथ्य, प्रमाण, प्रचलित कानुन र विधिको शासनका आधारमा कुनै पनि बाह्य प्रभावविना शीघ्र, निष्पक्ष र न्यायोचित फैसला हुने विश्वास व्यक्त गर्दछ । यस सन्दर्भमा नेवाः देय् दबूका धारणाहरु निम्नानुसार रहेका छन् :
सर्वोच्च अदालतबाट ऐतिहासिक तथ्य, प्रमाण र कानुनी आधारमा शीघ्र तथा निष्पक्ष निर्णय गरियोस् ।
नेपाल सरकार, सम्बन्धित निकाय तथा काठमाडौं महानगरपालिकाले सार्वजनिक गुठी सम्पदाको संरक्षण सुनिश्चित गर्दै अभिलेखसम्बन्धी विवादको निष्पक्ष छानबिन गरियोस् ।
पुरातात्त्विक, धार्मिक तथा सांस्कृतिक महत्व बोकेको कमलपोखरीको मौलिक स्वरूप संरक्षण र पुनर्स्थापनाका लागि आवश्यक पहल गरियोस् ।
सम्बन्धित सबै पक्षले आदिवासी समुदायको सांस्कृतिक अधिकार, सामाजिक सांस्कृतिक संवेदनशीलता तथा संवादको माध्यमबाट समाधान खोज्ने वातावरण निर्माण गरियोस् ।
विकासका नाममा ऐतिहासिक सम्पदा, गुठी परम्परा र आदिवासी समुदायको पहिचानमाथि हुने कुनै पनि अतिक्रमण स्वीकार्य हुन नसक्ने स्पष्ट गराउन चाहन्छौं । कमलपोखरी नेपालको साझा सांस्कृतिक सम्पदा हो । यसको संरक्षण भावी पुस्ताप्रतिको हाम्रो साझा जिम्मेवारी हो । यस उद्देश्यका लागि नेवाः देय् दबू संविधान, कानुन र लोकतान्त्रिक विधिअनुरूप आफ्नो रचनात्मक, वैधानिक तथा नागरिक अभियान निरन्तर अघि बढाउने प्रतिबद्धता व्यक्त गर्दछ ।























