रायोको सागमा भेटियो उच्च विषादी, नष्ट गर्न निर्देशन


काठमाडौं, असार १६। काठमाडौंको कालीमाटीस्थित फलफूल तथा तरकारी बजारमा गरिएको नियमित विषादी परीक्षणका क्रममा भक्तपुरबाट ल्याइएको रायोको सागमा तोकिएको मापदण्डभन्दा बढी विषादी अवशेष फेला परेको छ । कृषि तथा पशुपन्छी विकास मन्त्रालयअन्तर्गत कृषि विभागको केन्द्रीय कृषि प्रयोगशाला, विषादी अवशेष द्रुत विश्लेषण प्रयोगशाला एकाइले असार १६ गते सार्वजनिक गरेको परीक्षण प्रतिवेदनअनुसार मध्यपुर थिमी नगरपालिका, भक्तपुरबाट ल्याइएको रायोको सागमा अर्गानोफस्फेट समूहको विषादी ८०.०१६० प्रतिशत भेटिएकाले उक्त नमुनालाई ‘विसर्जन गर्ने’ श्रेणीमा राखिएको हो ।
प्रतिवेदनअनुसार उक्त नमुना किसान सिता रेग्मीको उत्पादन रहेको र कालीमाटीमा परीक्षणका क्रममा खान अयोग्य ठहरिएपछि नष्ट गर्नुपर्ने निर्णय गरिएको छ । प्रयोगशालाले आज कुल १२ वटा तरकारीका नमुनामा विषादी परीक्षण गरेको थियो । परीक्षण गरिएका नमुनामा रायोको साग, हरियो प्याज, निगुरो, काँक्रो, हरियो धनियाँ, घिरौँला र गोलभेँडा लगायतका तरकारी समावेश थिए ।
प्रयोगशालाले विषादीको अवशेषका आधारमा तरकारीलाई तीन वर्गमा वर्गीकरण गर्ने गरेको छ । ३५ प्रतिशतभन्दा कम विषादी अवशेष भएका तरकारी उपभोग योग्य मानिन्छन् । ३५ देखि ४५ प्रतिशतसम्म विषादी भेटिएमा केही दिन क्वारेन्टाइनमा राखेर पुनः परीक्षण गरिन्छ । ४५ प्रतिशतभन्दा बढी विषादी अवशेष पाइएमा भने त्यस्ता तरकारी विसर्जन गरी नष्ट गर्नुपर्ने व्यवस्था रहेको छ ।























