एआई चिप बनाउन ५७६ अर्ब डलर खर्च गर्दैछ दक्षिण कोरिया


सोल । दक्षिण कोरियाले कृत्रिम बौद्धिकता (एआई) र सेमिकन्डक्टर उद्योगमा आफ्नो विश्वव्यापी नेतृत्व अझ मजबुत बनाउन ५७६ अर्ब अमेरिकी डलरभन्दा बढीको विशाल लगानी योजना सार्वजनिक गरेको छ । राष्ट्रपति ली जे म्युङले सोमबार उक्त योजना घोषणा गर्दै यसलाई देशको एआई र चिप उद्योगका लागि ऐतिहासिक कदम भएको बताएका छन् ।
यो योजना दक्षिण कोरियाको एआई र चिप उत्पादन क्षमता विस्तार गर्नुका साथै राजधानी सियोलबाहिरका क्षेत्रको आर्थिक विकासलाई गति दिने उद्देश्यले ल्याइएको हो ।
राष्ट्रपति लीका अनुसार सामसुङ र एसके हाइनिक्सले आफ्ना आपूर्तिकर्तासँग मिलेर ८०० ट्रिलियन वन (करिब ५१७ अर्ब ९० करोड डलर) लगानी गर्नेछन् । यसअन्तर्गत दक्षिण कोरियाको दक्षिण–पश्चिमी क्षेत्रमा दुवै कम्पनीले दुई–दुई वटा नयाँ अत्याधुनिक चिप उत्पादन केन्द्र (फ्याब) निर्माण गर्नेछन् । यसका अतिरिक्त, ग्वाङ्जु सहर र दक्षिण जिओल्ला प्रान्तले ५ देखि २० ट्रिलियन वनसम्म लगानी गर्नेछन् । सियोल नजिकको चुङछेङ क्षेत्रमा चिप प्याकेजिङ क्लस्टर निर्माणका लागि थप ८१ ट्रिलियन वन लगानी गरिने अपेक्षा गरिएको छ ।
हाल दक्षिण कोरियाका अधिकांश अत्याधुनिक चिप उद्योग योङइन र प्योङटेक क्षेत्रमा केन्द्रित छन् । ती क्षेत्रको उत्पादन क्षमता लगभग पूर्ण रूपमा उपयोग भइसकेको उल्लेख गर्दै अलीले ब नयाँ उत्पादन केन्द्रहरू दक्षिण–पश्चिमी क्षेत्रमा विस्तार गर्नुपर्ने आवश्यकता रहेको बताए । उनका अनुसार उक्त क्षेत्रमा प्रशस्त विद्युत् उपलब्ध भएकाले ठूलो औद्योगिक पूर्वाधार निर्माण गर्न सहज हुनेछ ।
सामसुङ र एसके हाइनिक्सद्वारा उत्पादन गरिने हाई–ब्यान्डविथ मेमोरी (एचबीएम) चिपहरू अहिले विश्वव्यापी एआई प्रणाली विकासका लागि अत्यन्त महत्त्वपूर्ण मानिन्छन्। यस्ता चिपहरू उच्च क्षमताका एआई मोडेल, डाटा सेन्टर र सुपरकम्प्युटरमा व्यापक रूपमा प्रयोग भइरहेका छन् । विश्वभर एआई प्रविधिमा तीव्र प्रतिस्पर्धा भइरहेका बेला दक्षिण कोरियाले आफ्नो सेमिकन्डक्टर उद्योगलाई थप सुदृढ बनाउने रणनीति लिएको हो ।























