चीनको कारखाना गतिविधिमा पुनः वृद्धि


बेइजिङ । चीनको उत्पादन क्षेत्र जुन महिनामा पुनः विस्तारतर्फ फर्किएको छ । कृत्रिम बौद्धिकता (एआई)सँग सम्बन्धित चिप, कम्प्युटर र अन्य प्रविधिजन्य उत्पादनको विश्वव्यापी माग बढेसँगै कारखाना गतिविधि बढेको हो । मेरिकी अतिरिक्त भन्सार महसुल (ट्यारिफ) लागू हुनुअघि नै सामान पठाउने निर्यातकर्ताको रणनीति र बलियो निर्यात मागले चीनको सुस्त अर्थतन्त्रलाई केही राहत दिएको देखिएको छ ।
चीनको राष्ट्रिय तथ्याङ्क ब्युरो (एनबीएस)ले सार्वजनिक गरेको तथ्यांकअनुसार जुन महिनाको म्यानुफ्याक्चरिङ पर्चेजिङ म्उानेजर्स इन्डेक्स (पीएमआई) ५० दशमलव ३ अंकमा उक्लिएको छ । मे महिनामा यो सूच ५० अंक थियो । अन्तर्राष्ट्रिय समाचार संस्था रोयटर्सले गरेको सर्वेक्षणमा यो सूचक जुन महिनामा पनि ५० अंक नै रहने देखाएको थियो । पीएमआई सूचक ५० भन्दा माथि रहनुलाई कुनै पनि आर्थिक क्षेत्रमा गतिविधि बढिरहेको संकेत गर्दछ ।
अमेरिकी खुद्रा व्यापार कम्पनीहरूले पनि ब्ल्याक फ्राइडे र क्रिसमस किनमेल सिजनलाई लक्षित गर्दै सम्भावित ट्यारिफ वृद्धि हुनुअघि नै चीनबाट सामान अर्डर गर्ने क्रम बढाएका छन् । ढुवानी क्षेत्रका अधिकारीहरूका अनुसार अमेरिकी आयातकर्ताहरूले सामान चारदेखि छ साताअघि नै मगाउन थालेका छन् ।
तथ्यांकअनुसार नयाँ निर्यात मागसम्बन्धी सूचकांक ४८ दशमलव ६ अंकबाट बढेर ५० दशमलव १ अंकमा पुगेको छ । उत्पादन सूचकांक ५१ दशमलव ४ अंक रहँदा नयाँ अर्डर सूचकांक ५१ दशमलव २ अंकमा उक्लिएको छ । यद्यपि, कारखानाबाट निस्कने वस्तुको मूल्य सूचकांक ५१ दशमलव ९ अंकबाट घटेर ४८ दशमलव २ अंकमा झरेको छ, जसले मूल्यमा पुनः दबाब बढ्न थालेको संकेत गर्छ । रोजगारीसम्बन्धी सूचक पनि लगातार घट्दो क्रममा रहेको छ ।
इकोनोमिस्ट इन्टेलिजेन्स युनिट(ईआईयू)का वरिष्ठ अर्थशास्त्री सु थियानचेनले एआई क्षेत्रमा भइरहेको विश्वव्यापी लगानीका कारण निकट भविष्यमा पनि चीनको निर्यात बलियो रहने अपेक्षा व्यक्त गरेका छन् । उनका अनुसार आगामी महिनाहरूमा सरकारी खर्च बढ्ने र मौद्रिक नीतिमा थप सहजता ल्याइने सम्भावना छ ।
समीक्षा अवधिमा सेवा र निर्माण क्षेत्र समेट्ने नन–म्यानुफ्याक्चरिङ क्षेत्रको पीएमआई पनि ५० दशमलव १ अंकबाट बढेर ५० दशलमव २ अंकमा पुगेको छ भने समग्र कम्पोजिट पीएमआई ५० दशमलव ६ अंकमा पुगेको छ । यद्यपि, चीनको अर्थतन्त्रमा चुनौतीहरू अझै कायम छन् । लामो समयदेखि जारी घरजग्गा क्षेत्रको संकट, कमजोर घरेलु उपभोग र नयाँ घरको मूल्यमा आएको गिरावटले समग्र आर्थिक गतिविधिमा दबाब सिर्जना गरिरहेको छ । मे महिनाको तथ्यांकअनुसार तीन वर्षयताकै पहिलोपटक खुद्रा बिक्रीमा गिरावट आएको थियो ।
क्यापिटल इकोनोमिक्सका चीन अर्थशास्त्र प्रमुख जुलियन इभान्स–प्रिचार्डका अनुसार उत्पादन क्षेत्रमा आएको सुधार मुख्यतः निर्यात र एआईसँग सम्बन्धित उद्योगमा मात्र सीमित छ । उनका अनुसार उत्पादन क्षेत्र पुनः मूल्य घट्ने जोखिमतर्फ उन्मुख भइरहेको देखिन्छ ।























