अपराध, घटना, मुख्य समाचार, समाचार, सुदुरपश्चिम प्रदेश
मैले चिनेको, तर प्रशासनले चिन्न नसकेको ‘चिने मल्ल’


बाजुरा, असार १६ । बाजुरा जिल्ला हिमाली गाउँपालिका वडा नं. ४ का स्थायी बासिन्दा चिने मल्ल केही वर्षदेखि धुलाचौर बजारको सडक किनारमा एउटा सानो जस्ताको टहरामुनि भेटिन्छन्। झन्डै २० वर्षअघिदेखि साँफे, मार्तडी, कोल्टी हुँदै धुलाचौरसम्मको धुलाम्मे सडक किनार नै उनको जीवनको सहारा बनेको छ । त्यही सानो चियाखाजा पसलको कमाइबाट आफ्नी श्रीमती र ३/४ जना केटाकेटीको पेट पाल्दै आएका चिने मल्ल आर्थिक रूपमा निकै कमजोर छन्।
गाउँ समाजमा उनी धेरै नबोल्ने, आफ्नै काममा मग्न रहने र अत्यन्तै सोझो प्रवृत्तिका व्यक्तिका रूपमा चिनिन्छन्। तर, अचम्मको कुरा जसलाई सिङ्गो गाउँले ‘सोझो र निर्दोष’ भनेर चिन्छ, आज हाम्रो कानुन र प्रशासनले उसैलाई ‘अपराधी’ को रूपमा चिन्न पुगेको छ।
सन्दर्भ, हालै बाजुरा र हुम्लाको सीमा विवाद तथा हिमाली गाउँपालिकाको टोली ‘रानीसैन बहस कार्यक्रम’ का लागि जाँदै गर्दा लाम्पाटामा भएको आक्रमणको घटनासँग जोडिएको छ । दुई जिल्लाबीच सीमा र अधिकारको विवाद उत्कर्षमा पुगेकै बेला बाजुरा प्रहरीले हुम्लाका केही आक्रमणकारीलाई पक्राउ गरी अनुसन्धान सुरु गर्यो । तर, त्यसकै प्रतिसोध वा ‘काउन्टर’ रणनीतिअनुसार हुम्लाका केही व्यक्तिहरूले बाजुराका नागरिकविरुद्ध हुम्ला प्रशासनमा अभद्र व्यवहारको झुटो मुद्दा दर्ता गराए।
विडम्बना त्यही राजनीतिक र क्षेत्रीय खिचातानीको सिकार यी निरिह चिया पसले चिने मल्ल हुन पुगे । हुम्ला प्रशासनले जारी गरेको पक्राउ पुर्जीका आधारमा बाजुरा प्रहरीले उनलाई समातेर हुम्ला बुझाइसकेको छ ।
अनुत्तरित प्रश्न धुलाचौरको जस्ताको टहरामा चिया उमालिरहेका चिने मल्लको नत त्यो घटनासँग कुनै चासो थियो, नत उनी लाम्पाटा वा हुम्ला नै गएका थिए । घटनाको जानकारीसम्म नभएका र राजनीतिबाट कोसो टाढा रहेका एउटा गरिब नागरिकलाई कसरी किटानी जाहेरीमा पारियो? यो खबरले आज सिङ्गो धुलाचौर र बाजुराको समुदाय स्तब्ध र अचम्मित बनेको छ।
यस घटनाले कानुनी र प्रशासनिक क्षेत्रमा एउटा ठुलो रहस्य र प्रश्नचिह्न खडा गरेको छ । अधिकार क्षेत्रको उल्लङ्घन: बाजुरा जिल्लाको भूगोल र क्षेत्राधिकारभित्र घटेको भनिएको घटनाको मुद्दा, क्षेत्राधिकार नै नभएको हुम्ला जिल्ला प्रशासनले कसरी दर्ता गर्यो?
अन्यायपूर्ण पक्राउ: बिना कुनै सत्यतथ्य छानबिन, केवल रिसइबी साध्नका लागि लेखिएको नामकै भरमा एउटा निर्दोष नागरिकलाई दुःख दिने काम किन गरियो? कुनै पनि विवाद वा घटनामा दोषी उम्किनु हुँदैन, यसमा दुईमत छैन। तर, आफ्नो शक्ति र पहुँचको दुरुपयोग गरेर चिने मल्लजस्ता सर्वसाधारण र निर्दोष नागरिकलाई बलिको बोको बनाइनु न्यायसङ्गत कदापि हुन सक्दैन। राज्य र स्थानीय प्रशासनले यस विषयमा गम्भीर भई सत्यतथ्य छानबिन गरोस् र निर्दोष चिने मल्ललाई ससम्मान चाँडो भन्दा चाँडो रिहाइ गरोस्।
हुम्ला र बाजुरा छिमेकी जिल्ला हुन् र यहाँका सर्वसाधारण नागरिकबीच शताब्दी औँदेखिको आपसी भाइचारा र सद्भाव छ। केही सीमित व्यक्तिहरूको स्वार्थ र प्रतिशोधका कारण वर्षौँदेखिको यो सामाजिक सद्भावमा कुनै आँच आउनु हुँदैन। आशा छ, प्रशासनले विवेक प्रयोग गर्नेछ । सत्यको जित हुनेछ, समस्याको निरूपण छिटो हुनेछ र चिने मल्ल पुनः आफ्नो चिया पसलमा हाँस्दै फर्कनेछन्।
























