समाज

विद्यार्थीद्वारा नगरप्रमुख र वडाध्यक्षलाई विद्यालयमा पंखा तथा खानेपानीको व्यवस्था गर्न आग्रह

अशोक यादव
२०८३ असार १४ | मध्यान्ह ०२:०३ बजे

रौतहट, गढीमाई। रौतहटको गढीमाई नगरपालिका–८ स्थित श्री माध्यमिक विद्यालय, बिरनगराका कक्षा ८ मा अध्ययनरत विद्यार्थी अमित कुमार रौनियारले सामाजिक सञ्जालमार्फत नगरप्रमुख श्री श्याम प्रसाद यादव र वडा नं. ८ का वडाध्यक्ष श्री बजरंगी प्रसाद यादवलाई विद्यालयमा आधारभूत सुविधाको व्यवस्था गरिदिन आग्रह गरेका छन्।

विद्यार्थी रौनियारले विद्यालयका कक्षा ८, ९ र १० मा पंखाको व्यवस्था नभएको तथा शुद्ध खानेपानीको सुविधा समेत अभाव रहेको उल्लेख गरेका छन्। अत्यधिक गर्मीका कारण विद्यार्थीहरूलाई पठनपाठन गर्न कठिनाइ भइरहेको भन्दै उनले यथाशीघ्र पंखा र खानेपानीको व्यवस्था गरिदिन सम्बन्धित जनप्रतिनिधिसँग अनुरोध गरेका छन्।

उनले सामाजिक सञ्जालमा लेख्दै भनेका छन्, “हाम्रो विद्यालयमा कक्षा ८, ९ र १० मा पंखा छैन। यति गर्मीमा विद्यार्थीहरूलाई अध्ययन गर्न निकै समस्या भइरहेको छ। साथै खानेपानीको पनि उचित व्यवस्था छैन। नगरप्रमुखज्यू र वडाध्यक्षज्यूले हाम्रो विद्यालयमा पंखा तथा खानेपानीको व्यवस्था गरिदिनुहुन हार्दिक अनुरोध गर्दछु।”

विद्यार्थीको यस अनुरोधप्रति स्थानीय अभिभावक तथा सरोकारवालाले पनि विद्यालयमा आवश्यक शैक्षिक पूर्वाधारको व्यवस्था गरी विद्यार्थीलाई सहज वातावरणमा अध्ययन गर्ने अवसर उपलब्ध गराउन सम्बन्धित निकायको ध्यानाकर्षण गराएका छन्

कमेन्टहरु