प्रबास

इन्डोनेसियामा सरकार विरोधी प्रदर्शन, दर्जनौँ पक्राउ

एजेन्सी
२०८३ असार १३ | मध्यान्ह ०२:०३ बजे

काठमाडाैँ । इन्डोनेसियाको दोस्रो ठूलो सहर सुराबायामा राष्ट्रपति प्रबोवो सुबिआन्तोको नीतिहरूको बिरूद्ध र्याली तथा प्रदर्शनका क्रममा प्रहरीले दर्जनौं प्रदर्शनकारीहरूलाई पक्राउ गरेको एक अधिकार समूहले शनिबार जनाएको छ ।

यसअघि इन्धनको मूल्यवृद्धि र प्रबोवोको प्रमुख निःशुल्क भोजन योजनाको विरोध गर्न शुक्रबार सुराबायाको सरकारी भवन नजिकै करिब १०० जना भेला भएको एएफपीले जनाएको छ ।

केही प्रदर्शनकारीहरूले प्रहरीलाई ढुङ्गा हान्नुका साथै सरकारी संचनामा आगलागी गर्न थाले पछि उनीहरूलाई प्रहरी अधिकारीहरूले पक्राउ गरेको जनाइएको छ । अधिकार समूह कन्ट्रास सुराबायाका संयोजक फतकुल खोइरलाई उदृत गर्दै २४ जना प्रदर्शनकारीलाई पक्राउ गरिएको एफपीले जनाएको छ ।

सुराबाया प्रहरी प्रमुख लुथफी सुलिस्टियावानले अधिकारीहरूले प्रदर्शनकारीहरूलाई पछाडि धकेल्न बल प्रयोग गर्दा पनि नियन्त्रण नभए पछि पक्राउ गरिएको जनाएका छन् ।

मध्यपूर्व युद्धले विश्वव्यापी तेल आपूर्तिमा समस्या पारेको कारण दबाब कम गर्न खोज्दै प्रबोवोको प्रशासनले पेट्रोलको मूल्य करिब ३० प्रतिशतले बढाएकाले यस महिना इन्डोनेसियाका धेरै सहरहरूमा विरोध प्रदर्शन भएको जनाइएको छ ।

इन्धनको मूल्यवृद्धि र अर्बौं डलरको निःशुल्क भोजन योजना रोक्न माग गर्दै राजधानी जकार्तामा हजारौं विद्यार्थीहरू सडकमा उत्रिएको जनाइएको छ ।

यो पहल प्रबोवोको राजनीतिक एजेन्डाको आधारशिला भएता पनि उपयोगी नभएको र सामूहिक खाद्य विषाक्ततासँग जोडिएको भन्दै व्यापक आलोचना प्राप्त भए पछि यसलाई आंशिक रूपमा स्थगित गरिएको जनाइएको छ ।

कमेन्टहरु