दुबई यूएई, प्रबास

युएईमा अलपत्र नेपाली परिवारको उद्धार, नेफिन युएईको पहलमा स्वदेश फिर्ता

कबिराज राजबंशी
२०८३ असार १२ | मध्यान्ह ०२:०३ बजे

IMG 20260626 WA0000

प्रवास दुबई, युएई। संयुक्त अरब इमिरेट्स (युएई) मा लामो समयदेखि कानुनी तथा आर्थिक समस्याका कारण अलपत्र परेका एक नेपाली परिवारलाई नेपाल आदिवासी जनजाति महासंघ (नेफिन) युएई, नेपाली समाज युएई तथा युएईस्थित नेपाली दूतावासको समन्वय र सहयोगमा सकुशल स्वदेश फिर्ता गरिएको छ।

IMG 20260626 121150

उद्धार गरिएका परिवारका सदस्यहरू खोटाङ जिल्लाको नागी–३ निवासी कृष्णभक्त राई, उनकी पत्नी ललिता नेवाङ र सुपुत्र युनिक राई रहेका छन्। कृष्णभक्त राई लामो समयदेखि युएईमा कार्यरत रहे पनि कोभिड–१९ महामारीका क्रममा रोजगारी गुमाएपछि उनी र उनकी पत्नी कानुनी हैसियतविहीन अवस्थामा बस्न बाध्य भएका थिए। यसैबीच, छोरा युनिक राईका लागि आवश्यक यात्रा तथा परिचयसम्बन्धी कागजातको अभावले स्वदेश फिर्ता प्रक्रिया थप जटिल बनेको थियो।

IMG 20260626 121313

 

नेफिन युएईका अनुसार युएईस्थित नेपाली दूतावासको निरन्तर सहजीकरण तथा आवश्यक प्रशासनिक सहयोगका कारण परिवारका सम्पूर्ण कागजात तयार गरी उनीहरूलाई सुरक्षित रूपमा नेपाल फर्काउन सफल भएको हो। कठिन परिस्थितिमा रहेका नेपाली नागरिकहरूको समस्या समाधानका लागि सरकारी निकाय र सामाजिक संस्थाबीचको सहकार्यले सकारात्मक परिणाम दिएको नेफिन युएईले जनाएको छ।

IMG 20260626 121219

प्रवासमा रहेका आदिवासी जनजातिहरूको हक, अधिकार र पहिचानका मुद्दामा मात्र सीमित नभई अप्ठ्यारोमा परेका सम्पूर्ण नेपालीहरूको हितमा नेफिन युएई सदैव सक्रिय रहेको महासंघले उल्लेख गरेको छ। विभिन्न नेपाली संघ–संस्था, सामाजिक अभियन्ता तथा समुदायको एकताबद्ध प्रयासले विदेशमा समस्यामा परेका नेपालीहरूलाई समयमै राहत र सहयोग उपलब्ध गराउन महत्वपूर्ण भूमिका खेलेको पनि जनाइएको छ।

कमजोर आर्थिक अवस्थाका कारण स्वदेश फर्किन नसकिरहेको उक्त परिवारका लागि नेफिन युएईको उद्धार तथा राहत कोषमार्फत आर्थिक सहयोग संकलन अभियान सञ्चालन गरिएको थियो। संकलित सहयोग रकमबाट हवाई टिकट, आउटपास तथा अन्य आवश्यक प्रक्रियाका लागि लाग्ने खर्च व्यवस्थापन गरिएको बताइएको छ।

उद्धार अभियानका लागि आर्थिक सहयोग जुटाउन नेफिन युएईमा आबद्ध विभिन्न जातीय संस्थाहरू, समाजसेवी तथा सहयोगी दाताहरूले उल्लेखनीय योगदान दिएका थिए। विभिन्न व्यक्ति तथा संस्थाबाट संकलित करिब दुई लाख रुपैयाँ बराबरको सहयोगबाट उद्धार अभियान सफलतापूर्वक सम्पन्न भएको नेफिन युएईले जनाएको छ। उद्धार प्रक्रियाका लागि आवश्यक सम्पूर्ण खर्च व्यवस्थापन गरिसकेपछि बाँकी रहेको रकम बालक युनिक राईको उज्ज्वल भविष्यका लागि बचतस्वरूप सुरक्षित गरिएको समेत जानकारी दिइएको छ।

नेफिन युएईले यस अभियानलाई प्रवासमा समस्यामा परेका नेपालीहरूको संरक्षण, मानवीय सहयोग तथा सामाजिक उत्तरदायित्वको उदाहरणका रूपमा लिएको जनाएको छ। विभिन्न संघ–संस्था, नेपाली दूतावास तथा समुदायबीचको समन्वय र सहकार्यका कारण एक नेपाली परिवार पुनः आफ्नो मातृभूमि फर्किन सफल भएको भन्दै सम्बन्धित सबै पक्षप्रति कृतज्ञता व्यक्त गरिएको छ।

कमेन्टहरु