रुपन्देहीको योगिकुटीमा रहेको नेपाल विद्यतु प्राधिकरणको सभस्टेशनभित्र एकै ठाउँमा १५ वटा अजिंगर भेटियो


बुटवल । रुपन्देहीमा १५ वटा अजिंगर भेटिएको छ । रुपन्देहीको तिलोत्तमास्थित योगिकुटीमा रहेको नेपाल विद्यतु प्राधिकरणको सभ स्टेशनभित्र बिहीबार १५ वटा अजिंगर बच्चा भेटिएका हुन्। सर्प उद्दारकर्ता नविन पौडेल एकै ठाउँमा यति धेरै अजिंगर भेटिएको सम्भवतः पहिलो पटक रहेको बताए।
‘सुरुमा सभ स्टेशनबाट अजिंगर देखियो भनेर उद्दार गर्न बोलाउनुभयो’ पौडेलले भने, ‘सुरुमा एउटा उद्दार गरेर फर्किएँ। लगतै फेरि अर्को पनि देखियो खबर आयो। त्यहाँ पुगेर हेर्दा फेरि अर्को पनि थपियो। त्यहीँ ठाउँमा बाँकी १२ वटा सहित १५ वटा अजिंगर उद्दार गरें।’पौडेलले एक १५ दिन अघि सो क्षेत्रबाट ठूलो अजिंगर समातेर उद्दार गरेका थिए। गर्मी बढेसँगै तराई-मधेशमा विषालु सर्पको विगविगी सुरु हुन्छ।
एक वर्ष अघि तिलोत्तमा-५ प्रेमनगर एक घरभित्र २३ वटा विषालु गोमन सर्प भेटिएका थिए। वर्षायाम सुरु भएसँगै सर्पको टोकाइबाट अकालमा धेरैको ज्यान जाने गरेको छ। विगतमा वन जंगल रहेका ठाउँ घडेरीमा परिणत भएर घर बनेपछि सर्पको बासस्थान मासिँदै गएकाले सर्प बासस्थान खोज्दै घर-घर आउन थालेको सर्प उद्धारकर्ता नविन बताउँछन्।























