मुख्य समाचार, समाचार, सुदुरपश्चिम प्रदेश
स्वामिकार्तिकको १८ औँ गाउँ सभाको अधिवेशनमा ४४ करोड १६ लाख २ हजार बजेट पेस


बाजुरा , असार ११ । बाजुरा जिल्ला स्वामिकार्तिक खापर गाउँपालिकाको १८ औँ गाउँसभाको अधिवेशनमा आगामी आर्थिक वर्ष २०८३/०८४ का लागि ४४ करोड १६ लाख २ हजार रुपैयाँको बजेट पेस गरिएको छ। गाउँसभामा गाउँपालिका उपाध्यक्ष सुलोचना भण्डारीले बजेट प्रस्तुत गर्दै चालु आर्थिक वर्ष २०८२/०८३ को प्रगति विवरण समेत सार्वजनिक गर्नुभयो ।
चालु आर्थिक वर्षका लागि गाउँपालिकाको कुल विनियोजित बजेट ३८ करोड ३ लाख ६७ हजार १ सय ६९ रुपैयाँ रहेको थियो । हालसम्म उक्त बजेटमध्ये २५ करोड २८ लाख ५४ हजार १ सय ७ रुपैयाँ ५१ पैसा निकासा भएको उहाँले बताउनुभयो । गाउँसभामा प्रस्तुत निकासा भएको रकम मध्ये हालसम्म २७ करोड १७ लाख ५४ हजार ४ सय ५५ रुपैयाँ २६ पैसा खर्च भएको छ । विभिन्न विकास निर्माणका आयोजना, सामाजिक सुरक्षा, शिक्षा, स्वास्थ्य, कृषि तथा प्रशासनिक क्षेत्रका कार्यक्रममार्फत बजेट कार्यान्वयन भइरहेको गाउँपालिकाले जनाएको छ ।
आगामी आर्थिक वर्ष २०८३/०८४ का लागि गाउँपालिकाले आन्तरिक राजस्व, संघीय तथा प्रदेश सरकारबाट प्राप्त हुने वित्तीय हस्तान्तरण लगायतका स्रोतबाट ४४ करोड १६ लाख २ हजार रुपैयाँ आय हुने अनुमान गरेको छ। सोही बराबरको ४४ करोड १६ लाख २ हजार रुपैयाँ व्यय अनुमान समेत गाउँसभामा पेश गरिएको गाउँपालिका प्रवक्ता सिंह धामीले जानकारी दिनुभयो।गाउँपालिकाले आगामी वर्षको बजेटमा पूर्वाधार विकास, कृषि तथा पशुपालन प्रवर्द्धन, शिक्षा र स्वास्थ्य सेवाको गुणस्तर सुधार, खानेपानी तथा सरसफाइ, पर्यटन विकास, युवा तथा महिला लक्षित कार्यक्रम, रोजगारी सिर्जना र सामाजिक सुरक्षालाई प्राथमिकतामा राख्ने जनाएको छ।
आगामी आर्थिक वर्षमा विकास निर्माणका कार्यलाई थप प्रभावकारी बनाउने, सेवा प्रवाहलाई सहज र पारदर्शी बनाउने तथा शिक्षा, स्वास्थ्य, कृषि, पर्यटन र रोजगारका क्षेत्रमा उल्लेखनीय उपलब्धि हासिल गर्ने गरी बजेट तथा कार्यक्रम केन्द्रित गरिएको छ । १८ औँ गाउँसभा अधिवेशनमा जनप्रतिनिधि, कर्मचारी, राजनीतिक दलका प्रतिनिधि, सरोकारवाला निकाय तथा स्थानीयवासीहरूको उल्लेखनीय सहभागिता रहेको थियो। गाउँसभामा प्रस्तुत बजेट तथा कार्यक्रममाथि छलफल गरी आवश्यक सुझाव संकलन गरिने र त्यसपछि बजेट पारित गरिने भएको गाउँपालिका अध्यक्ष भरत बहादुर रोकायाले बताउनुभयो ।























