बिश्व

हिजबुल्लाहद्वारा मार्चयता इजरायलमा ७ हजारभन्दा बढी रकेट र ड्रोन प्रहार

एजेन्सी
२०८३ असार १० | मध्यान्ह ०६:०३ बजे

तेल अभिभ । इजरायलका विदेशमन्त्री गिडियोन सारले मार्च महिनायता हिजबुल्लाहले इजरायलमाथि ७ हजारभन्दा बढी रकेट, क्षेप्यास्त्र र ड्रोन प्रहार गरेको दाबी गरेका छन् । उनले यो जानकारी इजरायल र लेबनानबिच अमेरिकी मध्यस्थतामा जारी कूटनीतिक वार्ताको दोस्रो चरणअघि दिएका हुन् ।

तेल अभिभस्थित एक कार्यक्रममा बोल्दै सारले इजरायल र लेबनानी सरकारबिच केही सीमासम्बन्धी विवादबाहेक ठुलो मतभेद नरहेको बताए । उनका अनुसार ती विवादहरू छोटो वार्तामार्फत समाधान गर्न सकिन्छ । उनले इरान समर्थित हिजबुल्लाहलाई इजरायल र लेबनान दुवैको साझा शत्रुका रूपमा चित्रण गरे ।

सारका अनुसार पछिल्लो तनाव मार्चको सुरुवातमा हिजबुल्लाहले रकेट आक्रमण गरेपछि बढेको हो । इजरायलको दाबी छ कि त्यसपछि उत्तरी इजरायलका विभिन्न क्षेत्रहरू निरन्तर आक्रमणको निशानामा परेका छन् ।

इजरायली अधिकारीहरूले विभिन्न समयमा हिजबुल्लाहद्वारा हजारौँ रकेट, मिसाइल र ड्रोन प्रहार गरिएको दाबी गर्दै आएका छन् । ‘यदि तपाईँका सहरहरू यस्तै आक्रमणको सिकार भएका भए, कुनै पनि देशले आफ्ना नागरिकको सुरक्षा पुनःस्थापित गर्न कदम चाल्नु स्वाभाविक हुन्थ्यो,’ सारले भने ।

हिजबुल्लाहको आक्रमणपछि इजरायलले लेबनानमा व्यापक हवाई आक्रमण र स्थल कारबाही सञ्चालन गरेको छ । इजरायली सेनाले दक्षिणी लेबनानमा आफूले ‘सुरक्षा क्षेत्र’ भनेको क्षेत्रमा करिब १० किलोमिटर भित्रसम्म प्रवेश गरेको जनाएको छ ।

यसैबिच इजरायल र लेबनानका प्रतिनिधिहरूबिच वार्ताको दोस्रो चरण जारी रहने अपेक्षा गरिएको छ । विभिन्न सञ्चारमाध्यमका अनुसार इजरायलले वार्तालाई सकारात्मक बनाउन दक्षिणी लेबनानमा कब्जा गरिएका केही क्षेत्रबाट ‘प्रतीकात्मक फिर्ती’ गर्ने सम्भावनाबारे पनि विचार गरिरहेको छ ।

वार्ताको पहिलो दिन इजरायलका अमेरिकास्थित राजदूतले लेबनानमा इरानी प्रभावका कारण वार्ता असफल हुने जोखिम रहेको चेतावनी दिएका थिए । उनले वर्तमान परिस्थितिले शान्ति प्रयासलाई जटिल बनाएको बताएका छन् ।

कमेन्टहरु