प्रबास

अमेरिकामा अपराध गर्ने ग्रिन कार्डधारीलाई अब सहजै देश निकाला

एजेन्सी
२०८३ असार १० | मध्यान्ह ०४:०३ बजे

वासिङ्टन डीसी । अमेरिकाको सर्वोच्च अदालतले कानुनी रूपमा स्थायी बसोबास अर्थात् ग्रिन कार्डधारीहरूलाई अपराधसम्बन्धी आरोपमा देश निकाला गर्ने प्रक्रिया अझ सजिलो बनाएको छ । अदालतले मङ्गलवार सो निर्णय गरेको हो ।

अब कुनै ग्रिन कार्डधारीले नैतिक पतन समावेश हुने अपराध गरेको हो कि होइन भन्ने कुरा प्रमाणित गर्न सीमा अधिकारीहरूलाई स्पष्ट र ठोस प्रमाण आवश्यक नपर्ने भएको छ । अदालतले यस्तो अपराध भएको हुनसक्छ भन्ने उचित कारण सीमा अधिकारीहरूले देखाउनु नै ग्रिन कार्डधारीलाई देश निकाला गर्न पर्याप्त हुने स्पष्ट पारेको छ ।

यस निर्णयको पक्षमा राय दिने न्यायाधीश क्लारेन्स थोमसका अनुसार इमिग्रेसन एन्ड नेसनालिटी एक्टले सरकारलाई उच्च स्तरको प्रमाण आवश्यक पर्ने व्यवस्था गरेको छैन । यस निर्णयले सीमा अधिकारीहरूलाई नैतिक पतनसम्बन्धी अपराधमा संलग्न भएको शङ्का लागेमा कुनै पनि ग्रिन कार्डधारीलाई प्रवेश रोक्न र डिपोर्ट प्रक्रिया सुरु गर्न अझ बढी अधिकार दिएको छ ।

यो मुद्दा अमेरिकाको स्थायी बसोबास पाएका चिनियाँ नागरिक मुक चोई लाउसँग सम्बन्धित थियो । उनी सन् २०१२ मा चीनबाट फर्किँदा न्यूयोर्कको जोन एफ केनेडी अन्तर्राष्ट्रिय विमानस्थलमा रोकिएका थिए । त्यसबेला उनी न्यू जर्सीमा ट्रेडमार्क नक्कलसम्बन्धी आरोपको सामना गरिरहेका थिए । उनलाई सशर्त रूपमा अमेरिका प्रवेश गर्न दिइएको थियो, तर पछि उनी उक्त अपराध स्वीकार गर्दै दोषी ठहर भए ।

त्यसपछि उनीविरुद्ध डिपोर्ट आदेश जारी गरिएको थियो, जसलाई उनले लामो समयसम्म चुनौती दिँदै आएका थिए । फैसलाको पक्षमा ६ र विपक्षमा तीन जना न्यायाधीश थिए । विपक्षमा रहेकी न्यायाधीश केतनजी ब्राउन ज्याक्सनले आफ्नो असहमति रायमा सरकारलाई अत्यधिक शक्ति दिइएको भन्दै चिन्ता व्यक्त गरिन् ।

‘यस निर्णयले सरकारलाई व्यापक खुला अधिकार दिएको जस्तो देखिन्छ, जसले स्थायी बसोबासीको कानुनी सुरक्षा कमजोर बनाउन सक्छ’ उनको भनाइ थियो ।  यो निर्णयपछि अमेरिकी सीमा क्षेत्रमा ग्रिन कार्डधारीहरूको कडाइ बढ्ने, साना वा विवादास्पद अपराधका आरोपमा पनि प्रवेश रोक्न सकिने, डिपोर्ट प्रक्रियामा सरकारको भूमिका बलियो हुने आशङ्का बढाएको छ ।

कमेन्टहरु