बिश्व

इरान युद्धलाई असफल ठान्छन् अधिकांश अमेरिकी

एजेन्सी
२०८३ असार १० | मध्यान्ह ०२:०३ बजे

वासिङ्टन डिसी । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको इरानविरुद्धको युद्धबारे अधिकांश अमेरिकी नागरिक असन्तुष्ट रहेको एक नयाँ जनमत सर्वेक्षणले देखाएको छ । रोयटर्स र इप्सोसले गरेको पाँच दिने संयुक्त सर्वेक्षणमा केवल २४ प्रतिशत अमेरिकीले मात्र इरानसँगको युद्ध त्यसको लागत र क्षतिको हिसाबले उचित रहेको बताएका छन् । सर्वेक्षणमा सहभागी ५० प्रतिशतले युद्ध मूल्यवान् नभएको बताएका छन् भने बाँकी उत्तरदाताहरू अनिश्चित देखिएका छन् ।

सर्वेक्षणले ट्रम्पको लोकप्रियता पनि घटिरहेको देखाएको छ । उनको कार्यसम्पादनप्रतिको समग्र समर्थनदर ३४ प्रतिशतमा झरेको छ, जुन उनको दोस्रो कार्यकालको सबैभन्दा न्यून स्तरमध्ये एक हो । यसअघि अप्रिल महिनाको सर्वेक्षणमा पनि यति नै समर्थनदर देखिएको थियो । दोस्रो कार्यकालको सुरुमा ट्रम्पको समर्थनदर ४७ प्रतिशत थियो । तर उच्च मुद्रास्फीति, जीवनयापनको बढ्दो लागत तथा अध्यागमन नीतिबारेको विवादले उनको लोकप्रियतामा असर पारेको विश्लेषण गरिएको छ ।

इरानसँगको सम्झौताप्रति पनि अविश्वास

सर्वेक्षणअनुसार ६३ प्रतिशत अमेरिकीले ट्रम्प र इरानका राष्ट्रपति मसुद पेजेशकियनबिच भएको युद्धविराम तथा प्रारम्भिक सम्झौताले दीर्घकालीन शान्ति ल्याउने सम्भावना कम देखेका छन् । १८ प्रतिशत अमेरिकीले मात्र उक्त सम्झौताले स्थायी शान्ति स्थापना गर्न सक्ने विश्वास व्यक्त गरेका छन् । डेमोक्रेट समर्थकमध्ये ८० प्रतिशत र रिपब्लिकन समर्थकमध्ये झण्डै आधाले पनि सम्झौताले दिगो शान्ति नल्याउने बताएका छन् ।

अमेरिका बलियो भयो कि कमजोर 

सर्वेक्षणले इरान युद्धपछि अमेरिकाको अन्तर्राष्ट्रिय स्थिति अझै विवादित रहेको देखाएको छ । २३ प्रतिशत अमेरिकीले अमेरिका अहिले इरानसँगको सम्बन्धमा पहिलेभन्दा बलियो अवस्थामा पुगेको बताएका छन् । ३५ प्रतिशतले भने अमेरिका कमजोर बनेको बताएका छन्  । बाँकीले अवस्था उस्तै रहेको वा आफू निश्चित नभएको बताएका छन् । विशेष रूपमा, रिपब्लिकन समर्थकमध्ये पनि केवल आधाले मात्र अमेरिका बलियो बनेको विश्वास गरेका छन् ।

ट्रम्प र पेजेशकियनले जुन १७ मा प्रारम्भिक सम्झौतामा हस्ताक्षर गरेका थिए । उक्त सम्झौतापछि स्ट्रेट अफ होर्मुज भएर हुने तेल तथा ग्यास ढुवानी पुनः सञ्चालन भएको छ। त्यसको प्रभाव स्वरूप विश्व बजारमा कच्चा तेलको मूल्य घट्न थालेको छ । तर अमेरिकी उपभोक्ताहरूका लागि पेट्रोलको मूल्य युद्धअघि भन्दा अझै उच्च रहेको बताइएको छ । यही कारण जनस्तरमा असन्तुष्टि कायम रहेको विश्लेषकहरूको भनाइ छ ।

मध्यावधि निर्वाचनअघि रिपब्लिकनहरूलाई चुनौती

आगामी नोभेम्बर ३ मा हुने अमेरिकी मध्यावधि निर्वाचनअघि ट्रम्पको घट्दो लोकप्रियता रिपब्लिकन पार्टीका उम्मेदवारहरूका लागि चुनौती बन्न सक्ने देखिएको छ । सर्वेक्षणअनुसार स्वतन्त्र मतदातामध्ये १७ प्रतिशतले आफ्नो क्षेत्रमा रिपब्लिकन उम्मेदवारलाई मतदान गर्ने बताएका छन् । ३४ प्रतिशतले डेमोक्रेट उम्मेदवारलाई समर्थन गर्ने बताएका छन् ।

ट्रम्पको अध्यागमन नीतिप्रतिको समर्थनदर पनि घटेको छ । नयाँ सर्वेक्षणमा केवल ३७ प्रतिशत अमेरिकीले मात्र अध्यागमन व्यवस्थापनमा ट्रम्पको कामको समर्थन गरेका छन् । यो उनको दोस्रो कार्यकालको सबैभन्दा कम समर्थनदर हो । यसअघि भएको सर्वेक्षणमा यो दर ४० प्रतिशत थियो।

राजनीतिक विश्लेषकहरूका अनुसार इरान युद्ध, जीवनयापनको लागत वृद्धि, अध्यागमन विवाद र संसदभित्र बढ्दो असन्तुष्टिले ट्रम्प प्रशासनमाथि दबाब बढाइरहेको छ । आगामी मध्यावधि निर्वाचनले अमेरिकी मतदाताले यी विषयलाई कसरी मूल्याङ्कन गरेका छन् भन्ने स्पष्ट सङ्केत दिने अपेक्षा गरिएको छ ।

कमेन्टहरु