विदेशी भूमिमा मानवताको उत्सव : दुबईमा फेरि जुट्दै नेपाली रक्तदाता


प्रवास दुबई, यूएई । रोजगारी, व्यवसाय र उज्ज्वल भविष्यको खोजीमा संयुक्त अरब इमिरेट्स (यूएई) पुगेका नेपालीहरू फेरि एकपटक मानव सेवाको अभियानमा एकजुट हुने भएका छन्। नेपाली रक्तदाता संघ यूएई र नेपाली समाज यूएईको संयुक्त आयोजनामा आगामी जुलाई ५ मा दुबईस्थित दुबई ब्लड डोनेसन सेन्टरमा बृहत् रक्तदान कार्यक्रम आयोजना हुने भएको हो।

“हाम्रो विश्वव्यापी अभियान, जहाँ नेपाली त्यहाँ रक्तदान” भन्ने मूल नाराका साथ सञ्चालन हुन लागेको कार्यक्रममा नेपाली समाज यूएईमा आबद्ध ६६ वटा संघ–संस्थाको सक्रिय सहकार्य रहनेछ। आयोजकका अनुसार कार्यक्रम बिहान ८ बजेदेखि दिउँसो १२ बजेसम्म सञ्चालन हुनेछ भने सहभागी रक्तदाताको सुविधाका लागि बुर दुबई क्षेत्रबाट निःशुल्क यातायात सेवाको व्यवस्था पनि गरिएको छ।
विदेशी भूमिमा रहेर पनि नेपाली समुदायले सामाजिक उत्तरदायित्वलाई उच्च प्राथमिकतामा राख्दै आएको उदाहरणका रूपमा यस कार्यक्रमलाई हेरिएको छ। आयोजकहरूका अनुसार रक्तदान केवल एउटा सामाजिक गतिविधि मात्र नभई संकटमा परेका बिरामीको जीवन बचाउने मानवीय अभियान हो। दुर्घटना, शल्यक्रिया, प्रसूति, क्यान्सर, रक्तअल्पता तथा अन्य जटिल स्वास्थ्य समस्याका कारण दैनिक रूपमा रगतको आवश्यकता पर्ने भएकाले स्वस्थ व्यक्तिहरूलाई नियमित रक्तदान गर्न प्रेरित गर्ने उद्देश्यले कार्यक्रम आयोजना गर्न लागिएको हो।
रगतको अभावका कारण उपचार प्रभावित हुने अवस्थालाई न्यूनीकरण गर्न यस्ता अभियानले महत्वपूर्ण योगदान पुर्याउने विश्वास गरिएको छ। चिकित्सा विज्ञहरूका अनुसार एक युनिट रगतबाट प्लाज्मा, प्लेटलेट्स र रातो रक्तकोष अलग गर्न सकिने भएकाले एउटै रक्तदानले एकभन्दा बढी बिरामीको जीवन बचाउन मद्दत पुग्न सक्छ।
नेपाली रक्तदाता संघ यूएईले सन् २०२४ देखि दुबई हेल्थ अथोरिटीअन्तर्गतको दुबई ब्लड डोनेसन सेन्टरसँग सहकार्य गर्दै नियमित रक्तदान कार्यक्रम सञ्चालन गर्दै आएको छ। हालसम्म सम्पन्न पाँचवटा कार्यक्रममार्फत करिब ५५० नेपालीले रक्तदान गरी मानव सेवाको उत्कृष्ट उदाहरण प्रस्तुत गरिसकेका छन्। यस अभियानले यूएईमा नेपाली समुदायको सकारात्मक छवि निर्माण गर्नुका साथै सामाजिक एकता र सहकार्यलाई समेत मजबुत बनाएको आयोजकको भनाइ छ।
रक्तदान अभियानलाई निरन्तरता दिँदै आएको नेपाली रक्तदाता संघ यूएईले यसपटक पनि अधिकभन्दा अधिक नेपालीलाई कार्यक्रममा सहभागी भई रक्तदान गर्न आग्रह गरेको छ। संघका अनुसार रक्तदानले कसैको जीवन बचाउन सक्ने भएकाले यो मानवता, करुणा र सामाजिक उत्तरदायित्वको सबैभन्दा सुन्दर अभ्यास हो।
आयोजकहरूले यूएईमा रहेका सम्पूर्ण नेपाली समुदाय, विभिन्न सामाजिक संघ–संस्थाका प्रतिनिधि, व्यवसायी, युवा तथा शुभेच्छुकहरूलाई कार्यक्रममा सहभागी भई मानव सेवाको यस अभियानलाई सफल बनाउन आह्वान गरेका छन्। उनीहरूका अनुसार रक्तदान केवल रगत दिने कार्य मात्र नभई जीवन बचाउने संकल्प र समाजप्रतिको जिम्मेवारीको प्रतिविम्ब हो।























