स्ट्रेट अफ होर्मुजमा अलपत्र नाविकहरूको यूएनले उद्धार गर्ने


न्यूयोर्क । संयुक्त राष्ट्रसंघ (यून)अन्तर्गतको अन्तर्राष्ट्रिय समुद्री संगठन (आईएमओ)ले अमेरिका–इजरायल र इरानबिचको युद्धका कारण खाडी क्षेत्रमा अलपत्र परेका ११ हजारभन्दा बढी नाविकहरूको उद्धार तथा स्थानान्तरण गर्ने तयारी गरेको छ । यो वृहत् उद्धार अभियानू इरान, ओमान, अमेरिका, क्षेत्रका अन्य तटीय राष्ट्रहरू तथा समुद्री उद्योगसँगको सहकार्यमा सञ्चालन गरिने आईएमओका महासचिव आर्सेनियो डोमिङ्गुएजले बताए ।
सुरक्षित जलयात्राका लागि आवश्यक सुरक्षा प्रत्याभूति प्राप्त भइसकेको र सञ्चालनका लागि आवश्यक अवस्था राम्रोसँग मूल्याङ्कन गरिएको जानकारी पनि उनले दिए । युद्ध अन्त्य गर्न गत साता अन्तरिम सम्झौता (एमओयू) भएपनि अमेरिका र इरानबीच सम्झौताका विभिन्न बुँदालाई लिएर अझै मतभेद छ । अमेरिकाले उक्त सम्झौतामा इरानको आणविक हतियार कार्यक्रमलाई अन्तर्राष्ट्रिय आणविक ऊर्जा एजेन्सी (आईएईए)को निरीक्षणमा ल्याउने व्यवस्था समावेश भएको दाबी गरेको छ ।
यसप्रति प्रतिक्रिया जनाउँदै एक अमेरिकी अधिकारीले इरानले आफ्नो आणविक हतियार कार्यक्रमका अवशेषमाथि कडा आईएईए निरीक्षण स्वीकार गरेको दाबी गरे । यसैबिच, इरानका राष्ट्रपति मसुद पेजेशकियन ले मंगलबार पाकिस्तान भ्रमणका क्रममा इरानले आफ्नो प्रतिरक्षा क्षमताबारे कुनै पनि परिस्थितिमा वार्ता नगर्ने स्पष्ट पारे । पाकिस्तानी प्रधानमन्त्री शहबाज शरीफ ले संयुक्त पत्रकार सम्मेलनमा अमेरिका–इरान वार्तामा ब्यालिस्टिक क्षेप्यास्त्रको विषय उठान नभएको र सम्झौतामा पनि त्यसबारे कुनै उल्लेख नरहेको बताए ।
उता अमेरिकी विदेशमन्त्री मार्को रुबियोले मंगलबार संयुक्त अरब इमिरेट्स (यूएई)बाट खाडी राष्ट्रहरूको भ्रमण सुरु गरेका छन् । उनले अमेरिकी सैन्य अड्डाहरू रहेका कुवेत र बहराइनको पनि भ्रमण गर्ने कार्यक्रम छ । रुबियोले स्ट्रेट अफ होर्मुजमा कुनै पनि देशले टोल वा शुल्क असुल्न नपाउने चेतावनी दिएका छन् । इरानले उक्त जलमार्ग प्रयोग गर्ने जहाजबाट शुल्क लिने प्रस्ताव अघि सारेको थियो । उनले भने, ‘यो अन्तर्राष्ट्रिय जलमार्ग हो । अन्तर्राष्ट्रिय कानुनअनुसार कुनै पनि देशले यहाँ टोल वा शुल्क लिन सक्दैन,’ ।
स्ट्रेट अफ होर्मुज खुला रहनु नै अलपत्र परेका नाविकहरूको उद्धार योजनाको मुख्य आधार रहेको छ । आईएमओ प्रमुख डोमिङ्गुएजले यो सम्झौताले समुद्री सुरक्षाको पुनर्स्थापना र नागरिक जहाजमाथिका अस्वीकार्य आक्रमण अन्त्यतर्फ महत्वपूर्ण कदम भएको बताए । आईएमओको उद्धार योजनाअन्तर्गत स्ट्रेटमा दुई अस्थायी मार्ग प्रयोग गर्न सकिनेछ र जहाजहरूलाई व्यक्तिगत रूपमा थप निर्देशन दिइनेछ ।
फेब्रुअरी २८ मा इरानमाथि आक्रमण सुरु भएपछि होर्मुज ठप्पप्रायः छ । यस जलमार्गबाट विश्व बजारमा कच्चा तेल र तरलीकृत प्राकृतिक ग्यास (एलएनजी)को आपूर्तिमा अवरोध उत्पन्न हुँदा कच्चा तेलको भाउ ११४ डलर माथि उक्लिएको थियो । यो बाटो बन्द हुँदा मलखादजस्ता अत्यावश्यक वस्तुको ढुवानीसमेत प्रभावित भएको थियो । सम्झौतापछि पुनः खोलिएको स्ट्रेट अफ होर्मुजबाट हालसम्म कम्तीमा १७२ जहाज आवतजावत गरिसकेका छन् । शनिबार मात्रै ४२ जहाजले यो मार्ग प्रयोग गरेका थिए । यद्यपि यो संख्या युद्धअघिको दैनिक औसत १३८ जहाजको तुलनामा अझै कम छ । मंगलबारसम्म २०० भन्दा बढी तेल ट्यांकरहरू स्ट्रेट अफ होर्मुज क्षेत्रमा प्रतीक्षारत रहेको जहाज ट्र्याकिङसम्बन्धी तथ्याङ्कले देखाएको छ ।
























