मुख्य समाचार, समाचार, सुदुरपश्चिम प्रदेश
स्वामीकार्तिकमा १८ औँ गाउँ अधिवेशन सम्पन्न, शिक्षा र पूर्वाधारमा जोड


बाजुरा, असार ९ । बाजुरा जिल्ला स्वामीकार्तिक खापर गाउँपालिकामा गाउँ सभाको १८औँ गाउँ अधिवेशन सम्पन्न गरिएको छ । “उद्यमशीलता, शिक्षा, स्वास्थ्य, रोजगारी, पर्यटन, कृषि र खेलकुद—समृद्ध स्वामीकार्तिक खापर” भन्ने पवित्र र दूरदर्शी संकल्पका साथ स्वामीकार्तिक खापर गाउँपालिकाको १८ औँ गाउँसभा भव्य रूपमा सम्पन्न भएको छ ।
जनताको आशा, अपेक्षा र विकासप्रतिको गहिरो विश्वासलाई आत्मसात गर्दै पञ्चायती व्यवस्थापछिको स्थानीय सरकारको दोस्रो चरणमा गाउँपालिका जनताको सबैभन्दा नजिकको सरकारका रूपमा सेवा, विकास र सुशासनलाई केन्द्रमा राखेर निरन्तर अघि बढिरहेको छ।
गाउँपालिकाका अध्यक्ष भरत बहादुर रोकायाको नेतृत्वमा हालसम्म सम्पन्न भएका विकास निर्माणका कामहरूको विस्तृत समीक्षा संगै निति तथा कार्यक्रम प्रस्तुत गर्नुभएको छ । शिक्षा, स्वास्थ्य, सडक पूर्वाधार, कृषि आधुनिकीकरण, रोजगारी सिर्जना, पर्यटन प्रवर्द्धन लगायतका क्षेत्रमा भएका प्रयासहरू, जनतासँग गरिएका प्रतिबद्धताहरू तथा सेवा प्रवाहका उपलब्धिहरूको गहिरो मूल्यांकन गर्दै आगामी बाटो तय गरिएको छ।
जनताले बोकेका धेरै अपेक्षाहरू पूरा भएका छन् भने केही अझै अधुरै रहेका छन्। ती अधुरा सपना, योजनाहरू र जनताको जीवनस्तर उकास्ने दीर्घकालीन लक्ष्यहरूलाई आगामी आर्थिक वर्ष २०८३/८४ भित्र क्रमशः पूरा गर्ने दृढ अठोटका साथ यस वर्षको नीति तथा कार्यक्रम पारित गरिएको स्वामीकार्तिक खापर गाउँपालिका गाउँ सभा अध्यक्ष भरत बहादुर रोकायाले बताउनुभयो ।
विकास केवल भौतिक संरचना निर्माण मात्र नभई जनताको जीवनमा सकारात्मक परिवर्तन ल्याउने, आत्मनिर्भरता बढाउने र समृद्धिको बाटो खोल्ने माध्यम हो भन्ने साझा भावनासहित गाउँसभाले नयाँ ऊर्जा, नयाँ आशा र बलियो प्रतिबद्धताका साथ आफ्नो विकास यात्रा अघि बढाएको छ ।
उक्त गाउँ सभा स्वामीकार्तिक खापर गाउँपालिका गाउँ सभा अध्यक्ष भरत बहादुर रोकाया, गाउँ सभा उपाध्यक्ष सुलचना कुमारी भण्डारी (बुढा), गाउँपालिका सदस्य सचिव स्वामीकार्तिक खापर गाउँपालिका प्रमुख प्रशासकीय अधिकृत रमेश सिंह भण्डारी, गाउँ सभा सदस्य तथा कार्यपालिका सदस्य, गाउँपालिका कर्मचारी सहित पत्रकारको उपस्थितिमा रहेकोे प्रवक्ता सिंह धामीले बताएका छन ।























