स्ट्रेट अफ होर्मुजबारे छलफल गर्न इरान र ओमानद्वारा संयुक्त समिति गठन


मस्कट । इरान र ओमानले महत्त्वपूर्ण समुद्री मार्ग स्ट्रेट अफ होर्मुजसम्बन्धी विषयमा छलफल गर्न संयुक्त समिति गठन गरेका छन् । इरानका प्रमुख वार्ताकार मोहम्मद बाघेर घालिबाफले मंगलबार यसको जानकारी दिएका हुन् । ‘इरानी प्रतिनिधिमण्डलको मस्कट भ्रमणपछि इरान र ओमानले हर्मुज जलडमरूमध्यसम्बन्धी विषयमा छलफल गर्न संयुक्त समिति गठन गरेका छन् । यसबारे थप विवरण दुवै देशको संयुक्त वक्तव्यमा सार्वजनिक गरिनेछ,’ टेलिग्राममार्फत जारी सन्देशमा घालिबाफले भनेका छन् ।
यसअघि ओमानका विदेशमन्त्री सय्यद बद्र अलबुसैदीले आफू र घालिबाफबीच अमेरिका–इरान समझदारीपत्र र विशेषगरी स्ट्रेट अफ होर्मुजसम्बन्धी व्यवस्थाबारे सकारात्मक छलफल भएको बताएका थिए । ‘हामीबिच अमेरिका–इरान समझदारीपत्र, विशेषगरी स्ट्रेट अफ होर्मुजसम्बन्धी प्रावधानबारे रचनात्मक छलफल भयो,’ उनले सामाजिक सञ्जाल एक्समा लेखेका थिए ।
सुरक्षा चिन्ताका बाबजुद स्ट्रेट अफ होर्मुज हुँदै हुने जहाजहरूको आवतजावत क्रमशः बढ्न थालेको छ । तर यो संख्या युद्ध सुरु हुनुअघिको अवस्थाभन्दा अझै निकै कम रहेको बताइएको छ । यस वृद्धिको एउटा प्रमुख कारण अमेरिका र इरानबिच जलडमरूमध्यका विषयमा प्रत्यक्ष सम्पर्क संयन्त्र स्थापना गर्ने सहमति पनि हो । इरानका प्रमुख वार्ताकार घालिबाफका अनुसार उक्त हटलाइनको उद्देश्य जहाजहरू स्ट्रेट अफ होर्मुज पार गर्ने क्रममा विभिन्न देशहरूसँग हुन सक्ने गलतफहमी रोक्नु तथा कुनै समस्या उत्पन्न भए तत्काल समाधान गर्नु हो ।























