स्ट्रेट अफ होर्मुजमा बढ्दै जहाज आवागमन


तेहरान । विश्वको महत्वपूर्ण समुद्री मार्ग स्ट्रेट अफ होर्मुज हुँदै व्यावसायिक जहाजहरूको आवतजावत क्रमशः बढ्न थालेको छ। समुद्री यातायात निगरानी गर्ने संस्था मरीन ट्राफिकको तथ्यांकअनुसार पछिल्लो २४ घण्टामा कम्तीमा २४ वटा व्यावसायिक जहाजले स्ट्रेट अफ होर्मुज पार गरेका छन्। तीमध्ये आठ तेल ट्यांकर र दुई मालवाहक जहाज फारसी खाडीबाट बाहिरिएका छन् भने आठ तेल ट्यांकर र छ मालवाहक जहाज खाडीभित्र प्रवेश गरेका छन्।
पछिल्ला केही महिनामा होर्मुज क्षेत्रमा जहाजको नेभिगेसन प्रणालीमा कृत्रिम हस्तक्षेप (जीपीएस स्पुफिङ) व्यापक रूपमा देखिएको थियो। यस प्रक्रियामा जहाजहरूको वास्तविक स्थानभन्दा फरक स्थान प्रसारण हुने भएकाले समुद्री यातायात व्यवस्थापनमा समस्या उत्पन्न हुने गर्थ्यो।
तर हालका दिनमा यस्तो हस्तक्षेप उल्लेखनीय रूपमा घटेको देखिएको छ, जसले जहाज सञ्चालन र अन्तर्राष्ट्रिय व्यापारमा केही सहजता ल्याएको विश्लेषण गरिएको छ। स्ट्रेट अफ होर्मुजमार्फत खाडी क्षेत्रबाट विश्वभर खपत हुने झन्डै २० प्रतिशत तेल र प्राकृतिक ग्यास ढुवानी हुने गर्छ।
























