प्रबास

एआई अपनाएसँगै ओरेकलद्वारा २१ हजार कर्मचारी कटौती

एजेन्सी
२०८३ असार ९ | मध्यान्ह ०१:०३ बजे

क्यालिफोर्निया । अमेरिकी प्रविधि कम्पनी ओराकलले कृत्रिम बौद्धिकता (एआई) केन्द्रित व्यावसायिक पुनर्संरचनाका क्रममा विश्वभर करिब २१ हजार कर्मचारीको जागिर कटौती गरेको छ । कम्पनीको पछिल्लो वार्षिक प्रतिवेदनअनुसार सन २०२६ मे ३१ सम्म ओराकलमा १ लाख ४१ हजार पूर्णकालीन कर्मचारी छन् । अघिल्लो वर्ष सोही अवधिमा यो संख्या करिब १ लाख ६२ हजार थियो । यसरी एक वर्षमा कम्पनीको कुल कार्यबलको करिब १३ प्रतिशत घटाइएको छ ।

कम्पनीका विभिन्न सञ्चालन प्रक्रियामा एआई प्रविधिको प्रयोग बढ्दै जाँदा कर्मचारी संख्या घट्न सक्ने अवस्था सिर्जना भएको प्रतिवेदनमा ओरेकलले स्पष्ट रूपमा उल्लेख गरेको छ । कार्य सञ्चालनमा एआई प्रविधिको प्रयोगले कार्यबल घटाएको  र भविष्यमा पनि यस्तो प्रभाव जारी रहन सक्ने कम्पनीले भनेको छ ।

ओरेकलले कर्मचारी कटौती तथा अन्य पुनर्संरचनात्मक प्रक्रियामा पछिल्लो आर्थिक वर्षमा करिब १ अर्ब ८० करोड गरेको जनाएको छ । यो अघिल्लो वर्षको ३७ करोड ४० लाख डलरको तुलनामा निकै बढी हो । पुनर्संरचनाले केही क्षेत्रमा दक्ष जनशक्तिको अभाव हुन सक्ने तथा उत्पादकत्वमा असर पर्न सक्ने चेतावनी पनि कम्पनीले दिएको छ

ओरेकल हाल एआई कम्पनीहरूका लागि विशाल डेटा सेन्टर निर्माणको प्रतिस्पर्धामा छ । विशेष गरी ओपनएआई र मेटाजस्ता कम्पनीहरूलाई सेवा दिन कम्पनीले ठूलो लगानी गरिरहेको छ । बीबीसीका अनुसार ओरेकलले यस वर्ष मात्र एआई पूर्वाधारमा कम्तीमा ५० अर्ब डलर खर्च गर्ने योजना बनाएको छ । कम्पनीका सहसंस्थापक ल्यारी एलिसन अहिले कम्पनीको प्रमुख प्रविधि अधिकृत (सीटीओ)को भूमिकामा छन् । उनी विश्वका धनी व्यक्तिहरूमध्ये एक हुन् ।

एआई क्षेत्रमा ठूलो लगानी गर्न लागेका अन्य प्रमुख प्रविधि कम्पनीहरूले पनि हजारौँ कर्मचारी कटौती गरेका छन् । अमेरिकी अनलाइन खुद्रा कम्पनी एमाजनले आगामी वर्ष एआईमा करिब २०० अर्ब डलर लगानी गर्ने योजना बनाएको छ र करिब ३० हजार कर्मचारी कटौती गर्ने घोषणा गरेको छ । गूगल, एमाजन र मेटाले संयुक्त रूपमा यस वर्ष एआई प्रविधिमा करिब ६५० अर्ब डलर लगानी गर्ने अपेक्षा गरिएको छ । रोजगारी निगरानी गर्ने संस्थाहरूका अनुसार पछिल्लो एक वर्षमा विश्वभर १ लाखभन्दा बढी प्रविधि क्षेत्रका कर्मचारीहरू जागिरबाट हटाइएका छन् ।

कमेन्टहरु