मुख्य समाचार, समाचार, समाज

स्वामिकार्तिकमा आमा पहिलो कार्यक्रम आमाहरूलाई खाद्यान्न वितरण

उमेश रोकाया
२०८३ असार ९ | बिहान ०८:०३ बजे

बाजुरा, असार ९ । बाजुरा जिल्लाको स्वामिकार्तिक खापर गाउँपालिकामा आमा पहिलो कार्यक्रम आमाहरूलाई वडा नं. ४ र ५ गाउँमा खाद्यान्न वितरण गरिएको छ । वडा नं. ४ छापु र वाई र वडा नं. ५ जेराँ, डाँडावाडा र मिगुका गरी ३ सय २० घरधुरीका आमाहरूलाई खाद्यान्न उपलब्ध गराइएको हो।

प्रत्येक घरधुरीका आमालाई ५० किलोका दरले खाद्यान्न वितरण गरिएको छ । दुर्गम क्षेत्रमा बसोबास गर्ने परिवारहरूको खाद्य सुरक्षामा टेवा पुर्‍याउने, आमाहरूको जीवनस्तर सुधार गर्ने तथा परिवारको आधारभूत आवश्यकतामा सहयोग पुर्‍याउने उद्देश्यले खाद्यान्न वितरण गरिएको गाउँपालिकाका अध्यक्ष भरत बहादुर रोकायाले बताउनुभयो ।

खाद्यान्न पाएपछि स्थानीय आमाहरूले कार्यक्रमप्रति खुसी व्यक्त गर्दै यस्तो सहयोगले घरपरिवारको दैनिक जीवनयापनमा सहजता थपिएको बताएका छन् । विशेष गरी ग्रामीण तथा विकट बस्तीका परिवारका लागि खाद्यान्न सहयोग महत्वपूर्ण राहत बनेको उनीहरूको भनाइ छ । आमा पहिलो कार्यक्रम मातृशक्ति सशक्तीकरण, पोषण सुधार र सामाजिक सुरक्षालाई केन्द्रमा राखेर सञ्चालन भइरहेको कार्यक्रम हो ।

आमाहरूलाई प्राथमिकतामा राखेर गरिएका यस्ता गतिविधिले समुदायमा सकारात्मक प्रभाव पारेको स्थानीयवासीको विश्वास छ । स्थानीयले कार्यक्रमलाई निरन्तरता दिन आग्रह गर्दै दुर्गम क्षेत्रका नागरिकको जीवनस्तर उकास्न यस्ता जनमुखी योजनाले महत्वपूर्ण भूमिका खेल्ने बताएका छन् ।

कमेन्टहरु