कतारको रास लफान ग्यास प्लान्ट विष्फोटमा १३ को मृत्यु, ६६ जना घाइते


काठमाडौँ । कतार इनर्जीले रास लफान औद्योगिक क्षेत्रस्थित बार्जान ग्यास आपूर्ति केन्द्रमा भएको विष्फोटमा १३ जनाको मृत्यु भएको छ । जसमा भारतीय र पाकिस्तानी श्रमिक रहेको जनाएको छ ।
उक्त घटनामा ६६ जना श्रमिक घाइते भएका छन् । केहीको अवस्था चिन्ताजनक रहेको जनाएको छ । उनीहरूको पहिचान सार्वजनिक गरिएको छैन । कतार इनर्जीले सोमबार आयोजना गरेको पत्रकार सम्मेलनमा यसबारे जानकारी दिइएको हो ।
ऊर्जा मामिलाका राज्यमन्त्रीसमेत रहेका कतार इनर्जीका अध्यक्ष एवं प्रमुख कार्यकारी अधिकृतसाद शेरिदा अल–काबीको नेतृत्वमा भएको पत्रकार सम्मेलनमा रास लफान औद्योगिक सहरस्थित बारजान ग्यास आपूर्ति परियोजना सञ्चालन गर्ने क्रममा दुर्घटना भएको जनाइएको छ ।
उक्त प्लान्टको मर्मतसम्भारको लागि भन्दै गत डिसेम्बरदेखि बन्द गरिएको र २ दिनअघि मात्रै पुनः सञ्चालनमा ल्याइएको थियो । केन्द्रमा आइतबार राति करिब १०:३० बजेतिर विष्फोट हुँदा आगोलागी भएको थियो ।
रास लफान क्षेत्रमा नेपाली, भारतीय र बंगलादेशी श्रमिक काम गर्दै आइरहेका छन् । घाइतेहरूको स्थानीय अस्पतालहरूमा उपचार भइरहेको छ । रास लफान राजधानी दोहाबाट करिब ८० किलोमिटर टाढा पर्छ ।























