खरबुजाको बीउसहित ट्रक बारा प्रहरीको नियन्त्रणमा


बारा । जिल्ला प्रहरी कार्यालय कलैया, बाराले खरबुजाको बीउसहित एक ट्रकलाई नियन्त्रणमा लिएको छ। सिम्रौनगढ नगरपालिका–६ पावरहाउस चोकमा चेकजाँचका क्रममा उक्त ट्रकलाई नियन्त्रणमा लिइएको बारा प्रहरी प्रमुख नरेन्द्र कुवरले बताएका छन्।
सिम्रौनगढबाट रौतहटतर्फ जाँदै गरेको ना ४ ख ८३४१ नम्बरको ट्रकलाई इलाका प्रहरी कार्यालय सिम्रौनगढबाट खटिएको गस्ती टोलीले रोकी चेकजाँच गरेको उनले बताए। चेकजाँचका क्रममा ट्रकमा भेटिएको खरबुजाको बीउको बिल शंकास्पद देखिएपछि थप अनुसन्धानका लागि ट्रकलाई नियन्त्रणमा लिइएको उनले जानकारी दिए।
करिब २३ लाख रुपैयाँ बराबर मूल्यको खरबुजा (तरबुजा) को बीउ ट्रकमा लोड गरिएको बताइएको छ। ट्रकभित्र रहेका ३१४ वटा बोरामा १२ हजार ५६० किलोग्राम खरबुजाको बीउ फेला परेको र उक्त बीउको भन्सार राजस्व तिरेको बिलबिजक चालकले देखाउन नसकेपछि बीउसहित ट्रक नियन्त्रणमा लिइएको उनले बताए।
ट्रकका चालक परवानीपुर गाउँपालिका–३ निवासी ३१ वर्षीय प्रवेज आलम लाई पनि प्रहरीले नियन्त्रणमा लिएको छ। बरामद गरिएको बीउको मूल्य २२ लाख ९९ हजार २३३ रुपैयाँ र ट्रकको अनुमानित मूल्य ३५ लाख रुपैयाँ गरी कुल ५७ लाख ९९ हजार २३३ रुपैयाँ बराबर मूल्यांकन गरिएको छ।
चालकसहित आवश्यक अनुसन्धान तथा कारबाहीका लागि सोमबार राजस्व अनुसन्धान कार्यालय पथलैया मा बुझाइएको बारा प्रहरीले जनाएको छ।
























