समाचार

लेखक वसन्त थापाको ‘एउटा औसत जिन्दगी’ सार्वजनिक

नवलपुर टुडे
२०८३ असार ८ | मध्यान्ह ०८:०३ बजे

काठमाडौँ । लेखक वसन्त थापाको संस्मरणात्मक कृति ‘एउटा औसत जिन्दगी’ सार्वजनिक गरिएको छ। काठमाडौँको कमलादीस्थित नेपाल प्रज्ञा–प्रतिष्ठानको सिद्धिचरण श्रेष्ठ कक्षमा आइतबार आयोजित समारोहमा पुस्तक लोकार्पण गरियो।

लेखक थापा, साहित्यकार खगेन्द्र संग्रौला, विश्लेषक हरि शर्मा तथा थापाका नाति–नातिनीहरूले संयुक्त रूपमा पुस्तक लोकार्पण गरे। पुस्तकमा विभिन्न पत्रपत्रिका तथा पुस्तकमा प्रकाशित थापाका संस्मरणात्मक लेख संग्रहित छन्।

कार्यक्रममा साहित्यकार खगेन्द्र संग्रौलाले लेखक थापासँग उनको लेखनयात्रा, संघर्ष तथा तत्कालीन धरानको साहित्यिक परिवेशलगायत विषयमा संवादसमेत गरे। पुस्तकमा संग्रहित ‘म किन लेखक होइन’ शीर्षकको लेखको प्रसङ्ग उठाउँदै संग्रौलाले दर्जनौं निबन्ध लेखिसकेका र कृति प्रकाशन भइसकेका व्यक्तिले आफूलाई लेखक नभन्नु कत्तिको उचित हो भन्ने प्रश्न गरे।

जवाफमा थापाले आख्यान विधामा कलम नचलाएकाले आफूलाई लेखकको परिभाषाभित्र राख्न सङ्कोच हुने सुनाए।

कार्यक्रममा विश्लेषक हरि शर्माले थापाको लेखनशैलीको प्रशंसा गरे। पुस्तकले एक पुस्ताको भोगाइ र समयचेतलाई जीवन्त रूपमा अभिव्यक्त गरेको उनको भनाइ छ। नयाँ पुस्ताले अघिल्लो समयको समाज, सोच र जीवनपद्धति बुझ्न पनि यो पुस्तक उपयोगी रहेको उनले जनाए। ‘समयचेत बुझ्न नपढी नहुने पुस्तक हो, एउटा औसत जिन्दगी,’ शर्माले भने, ‘सम्पादकहरू खासमा अरूको कृति या रचना काँटछाँट गर्न सिपालु हुन्छन्।

तर वसन्त थापा आफैंमा कुशल सम्पादक भएर पनि आफ्नो लेखन पनि उत्तिकै चुस्तदुरुस्त बनाउन सक्ने व्यक्ति हुनुहुन्छ।’ कार्यक्रममा फाइनप्रिन्टका प्रकाशक अजित बरालले वसन्त थापाको भाषाशैली र संस्मरण लेखनले नेपाली समाजको परिवर्तनशील चरित्रलाई बुझ्न महत्त्वपूर्ण आधार प्रदान गर्ने बताए। भाषा र अभिव्यक्तिका दृष्टिले पनि यो पुस्तक पठनीय रहेको उनले उल्लेख गरे। ‘भाषाका लागि मात्रै पनि यो पुस्तक पढिन्छ,’ उनले भने, ‘थापाका संस्मरणात्मक आलेख पढिरहँदा नेपाली समाजको परिवर्तनको दिशा र यहाँको समाजको चरित्र थाहा पाइन्छ।’

त्यसैले यति शक्तिशाली पुस्तक प्रकाशन गर्न पाउँदा आफूहरू हर्षित बनेको उनको भनाइ छ।पुस्तक फाइनप्रिन्टले प्रकाशन गरेको हो।

पुस्तकमा के छ?

संस्मरण विधामा विशिष्ट स्थान बनाएका वसन्त थापाका संस्मरणहरूको सङ्ग्रह हो, औसत एउटा जिन्दगी। विषय जे उठान गरे पनि उनको लेखन सुविचारित हुनुका साथै बिरलाकोटी ‘सेन्स अफ ह्युमर’ले भरिएको हुन्छ। सुललित भाषाविन्यास, व्यङ्ग्य र भाषिक सौन्दर्यको छनक पाइने यस कृतिमा लेखकले जीवनका विविध आयामलाई कुशल मूर्तिकारले प्रस्तरमा कला कुँदे जसरी सावधानीपूर्वक कुँदेका छन् । छुटिगएका बाल्यकालीन सम्झनाको कुटुरो खोलिदिनु, गाउँको मौलिक महक भेटाइदिनु र युवावस्थाको उष्ण जोसलाई पुनः तरोताजा गराइदिनु यस कृतिका विशेषता हुन्।

सामान्य लाग्ने जीवनभित्रका असामान्य अनुभवहरूको सँगालो मान्न सकिन्छ, एउटा औसत जिन्दगीलाई। आत्मपरक भए पनि यो कृति एक प्रकारको सामाजिक दस्तावेज हो, जसले एउटा पुस्ताले भोगेको नेपाली समाजको रूपान्तरण, चुनौती र सङ्घर्षलाई उजागर गर्छ।

को हुन् थापा?

वसन्त थापा कुशल भाषा सम्पादक, सिद्धहस्त अनुवादक एवम् चर्चित स्तम्भकारसमेत हुन्। उनले लामो समय हिमाल खबरपत्रिकामा ‘ऋतुराज’ उपनामबाट ‘ऋतुविचार’ व्यङ्ग्यस्तम्भ लेखे। हिमाल द्वैमासिकका पूर्वसम्पादक थापा काठमाडौँ इन्टरनेसनल माउन्टेन फिल्म फेस्टिभलका संस्थापक अध्यक्ष तथा हिमाल बुक्सका पूर्वप्रबन्ध निर्देशक पनि हुन्।

PXL 20260621 103553987.PORTRAIT.ORIGINAL3

कमेन्टहरु