रास्कोट नगरसभामा ५६ करोड ६७ लाखको बजेट पेस


कालीकोट । रास्कोट नगरपालिकाले आर्थिक वर्ष २०८३/०८४ का लागि कूल रु ५६ करोड ६७ लाख ५१ हजारको बजेट प्रस्तुत गरेको छ । आइतबार नगरपालिकाको १८ औँ नगरसभामा उपप्रमुख मनिराज बरालल पेस गरेका हुन् ।
नगरपालिकाले प्रस्तुत गरेको कूल रु ५६ करोड ६७ लाख ५१ हजारको बजेटमध्ये सङ्घीय समानिकरण अनुदानतर्फ रु नौ करोड ७६ लाख, सशर्त अनुदान चालुतर्फ रु १८ करोड ८१ लाख र सशर्त अनुदान पुँजीगततर्फ रु १० करोड ४५ लाख रहेको छ ।
नगरपालिकाले आफ्नो आन्तरिक स्रोत (कर तथा गैरकर राजस्व) बाट कूल बजेटको ३.०९ प्रतिशतअर्थात् रु एक करोड ७५ लाख सङ्कलन गर्ने लक्ष्य लिएको छ । प्रस्तावित कूल व्ययमध्ये चालुतर्फ ६१.४२ प्रतिशतअर्थात् रु ३४ करोड ८१ लाख एक हजार र पुँजीगततर्फ ३८.५८ प्रतिशतअर्थात् रु २१ करोड ८६ लाख ५० हजार विनियोजन गरिएको छ ।
क्षेत्रगत रुपमा नगरपालिकाले सामाजिक विकास क्षेत्रलाई उच्च प्राथमिकतामा राख्दै कूल बजेटको ६४.८८ प्रतिशतअर्थात् रु ३६ करोड ७७ लाख पाँच हजार छुट्याएको छ ।
शिक्षा क्षेत्रका लागि रु २० करोड, स्वास्थ्यतर्फ रु १५ करोड ७६ लाख पाँच हजार विनियोजन भएको छ । सोबाहेक आर्थिक विकास क्षेत्रमा रु दुई करोड ४८ लाख, पूर्वाधार विकासतर्फ रु छ करोड पाँच लाख ५० हजार (१०.६८ प्रतिशत), सुशासन तथा अन्तरसम्बन्धित क्षेत्रमा रु एक करोड २८ लाख ५० हजार र वन तथा वातावरण क्षेत्रमा रु २० लाख बाँडफाँट गरिएको छ ।
कार्यालय सञ्चालन तथा प्रशासनिक खर्चका लागि १७.४४ प्रतिशतअर्थात् रु नौ करोड ८८ लाख ४६ हजार विनियोजन भएको नगरपालिकाले जनाएको छ ।
कालीकोटको रास्कोट नगरपालिकाले ‘हामी बनाउँछौँ, हाम्रो नगर’ भन्ने मूल नाराका साथ ‘समृद्ध रास्कोट, सुखी रास्कोटवासी’ को दीर्घकालीन लक्ष्यका साथ कालीकोटको नगरसभा सम्पन्न भएको थियो ।
























