होर्मुजमा जहाज आवागमन घट्यो, बन्दको घोषणापछि बढ्यो अन्योल


तेहरान । लेबनानमाथि इजरायलले गरेको आक्रमणको विरोधमा इरानले रणनीतिक जलमार्ग होर्मुज जलडमरूमध्य (स्ट्रेट अफ होर्मुज) बन्द गरिएको घोषणा गरेपछि उक्त क्षेत्रमा जहाजहरूको आवागमन उल्लेखनीय रूपमा घटेको देखिएको छ।
सामुद्रिक गुप्तचर कम्पनी विन्डवार्ड का अनुसार आइतबार केवल १२ वटा जहाजले जलडमरूमध्य पार गरेका छन्। अघिल्लो दिन भने ३५ वटा जहाजले उक्त मार्ग प्रयोग गरेका थिए। जलडमरूमध्य प्रवेश गरेका आठ जहाजमध्ये पाँचवटाले आफ्नो अटोमेटिक आइडेन्टिफिकेसन सिस्टम (एआईएस) बन्द गरेका थिए, जसका कारण उनीहरूको गतिविधि ट्र्याक गर्न कठिन भएको बताइएको छ।
समुद्री तथ्यांक प्रदायक केप्लर का अनुसार बिहीबार २५ वटा जहाजले उक्त जलमार्ग पार गरेका थिए, जुन अप्रिल मध्ययताकै उच्च संख्या थियो।तर शनिबार इस्लामिक रिभोलुसनरी गार्ड कर्प्स (आईआरजीसी) ले लेबनानमा इजरायलले गरेका ‘अपराध’ र अमेरिका शान्ति कायम गर्न असफल भएको आरोप लगाउँदै होर्मुज जलडमरूमध्य बन्द गरिएको घोषणा गरेको थियो।
यद्यपि अमेरिकी सेनाको सेन्ट्रल कमाण्ड (सेन्टकम) ले इरानको दाबी अस्वीकार गर्दै जलमार्ग अझै खुला र सुरक्षित रहेको जनाएको छ। सेन्टकमका अनुसार शनिबार मात्रै ५५ वटा व्यापारिक जहाजले उक्त मार्ग प्रयोग गरेका थिए।
दुवै पक्षले सार्वजनिक गरेका तथ्यांकमा ठूलो अन्तर देखिएपछि जलमार्गको वास्तविक अवस्था भने अझै स्पष्ट हुन सकेको छैन।क्यानडाको म्याकमास्टर विश्वविद्यालयका आपूर्ति शृंखला विज्ञ बेहरुज बख्तियारी का अनुसार केही जहाजहरूले इरानी सैन्य निगरानीबाट बच्न एआईएस बन्द गरेर ओमानको तटीय मार्ग प्रयोग गरेको हुन सक्छ।
“इरानले यातायात घटेको देखाउन चाहन्छ भने सेन्ट्रल कमाण्डले यसको प्रभाव न्यून रहेको सन्देश दिन चाहन्छ। त्यसैले दुवै पक्षका तथ्यांकमा फरक देखिएको हुन सक्छ,” बख्तियारीले भने।
























