वाग्मती प्रदेशसहित यी भूभागमा हुनेछ वर्षा, कही तातो हावाको लहर


काठमाडौं । देशका केही स्थानमा आज मध्यम वर्षा हुँदा केही भूभागमा तातो दिन हुनेछ । मनसुन प्रणाली कोसी प्रदेशबाट अगाडि बढ्न नसक्दा केही भूभागमा तातो हावाको लहर चलिरहेको छ । जल तथा मौसम विज्ञान विभागका अनुसार दिउँसो देशका हिमाली र पहाडी भूभाग साथै कोसी प्रदेशका तराई भूभागमा साधारणतया बादल लाग्नेछ ।
मधेस, वाग्मती र गण्डकी प्रदेशमा आंशिक बादल लाग्नेछ । लुम्बिनी र सुदूरपश्चिम प्रदेशको तराई भूभागमा मौसम मुख्यतया सफा रहनेछ । कोसी प्रदेशका हिमाली र पहाडी भूभागका केही स्थानमा तथा वाग्मती र गण्डकी प्रदेशका हिमाली र पहाडी भूभागका थोरै स्थानमा मध्यमसम्मको वर्षा/हिमपातको सम्भावना छ ।
लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका हिमाली र पहाडी भूभागका एकदुई स्थानमा मेघगर्जन र चट्याङसहित मध्यमसम्मको वर्षा/हिमपातको सम्भावना छ । कोसी प्रदेशका तराई भूभागका थोरै स्थानमा तथा मधेस प्रदेशको एकदुई स्थानमा मेघगर्जन/चट्याङसहित मध्यमसम्मको वर्षाको सम्भावना छ ।
लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराई भूभागका केही स्थानमा तातो लहर चल्नेछ । वाग्मती र गण्डकी प्रदेशका तराई भूभागका केही स्थानमा पनि तातो दिन हुने सम्भावना छ । विभागले राति कोसी, वाग्मती र गण्डकी प्रदेशका हिमाली र पहाडी भूभागका साथै कोसी प्रदेशका तराई भूभागमा साधारणतया बादल लाग्ने बताएको छ ।
मधेस, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशको हिमाली र पहाडी भूभागमा आंशिक बादल लाग्नेछ । वाग्मती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशको तराई भूभागमा मौसम मुख्यतया सफा रहनेछ । कोसी, वाग्मती र गण्डकी प्रदेशका हिमाली र पहाडी भूभागका थोरै स्थानमा मेघगर्जन/चट्याङसहित मध्यमसम्मको वर्षा/हिमपातको सम्भावना छ ।
मधेस र कोसी प्रदेशको तराईका थोरै स्थानमा मेघगर्जन/चट्याङसहित मध्यमसम्मको वर्षाको सम्भावना छ । विभागका अनुसार हाल कोसी प्रदशको केही स्थानमा मनसुनी वायुको प्रभाव छ । अन्य भूभागमा पश्चिमी र स्थानीय वायुको प्रभाव रहेको छ ।
























