विधान संशोधन गरेर रास्वपालाई थप समावेशी बनाइँदै


चितवन। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) लाई थप समावेशी बनाइने भएको छ। पहिलो राष्ट्रिय महाधिवेशन अगाडि नै आफ्नो विधान संशोधन गरेर पार्टीलाई समावेशी बनाउन लागिएको हो।
विधान संशोधन समितिका सदस्य गणेश पराजुलीका अनुसार विधान संशोधनपछि अब बन्ने कार्यसमितिमा उपसभापति पदमा महिलाको उपस्थिति अनिवार्य हुनुपर्ने व्यवस्था गरिएको छ। नयाँ व्यवस्थाअनुसार पार्टीमा सभापति एक, एक जना महिलासहित तीन उपसभापति, दुई महामन्त्री तथा एक जना महिलासहित पाँच सहमहामन्त्री निर्वाचित हुनेछन्।
त्यसैगरी, कार्यसमितिमा एक कोषाध्यक्ष, दुई सहकोषाध्यक्ष, एक प्रवक्ता र तीन सहप्रवक्ता मनोनयन गरिनेछ। अब रास्वपाको केन्द्रीय समिति कुल १५१ सदस्यीय हुनेछ। जसमा ९९ जना सदस्य र सभापति निर्वाचित भएर आउनेछन् भने बाँकी ५१ जना सदस्य समावेशी प्रक्रिया पूरा हुने गरी सभापतिले मनोनयन गर्ने व्यवस्था मिलाइएको छ। सातै प्रदेशका पार्टी सभापतिहरू भने स्वतः केन्द्रीय समितिको पदेन सदस्य बन्नेछन्। यसअघि कोषाध्यक्ष र प्रवक्ता मात्र सभापतिले मनोनित गर्ने गरेकामा अब नयाँ विधानअनुसार एक उपसभापति, एक महामन्त्री र दुई सहमहामन्त्रीसमेत सभापतिले नै मनोनित गर्न पाउने व्यवस्था थपिएको छ।
पराजुलीले भने, ‘समावेशिताको सिद्धान्तलाई समेट्ने गरी विधानले सम्बोधन गरेको छ।’ नयाँ व्यवस्थाले पार्टीका सबै तहमा महिलाको सहभागिता सुनिश्चित गरेको छ। प्रत्यक्ष निर्वाचित हुने ९९ सदस्यमध्ये प्रत्येक प्रदेशबाट पाँच जनाका दरले केन्द्रीय सदस्य छानिनेछन्।
प्रदेशबाट आउने ३५ जना केन्द्रीय सदस्यमध्ये एउटा प्रदेशबाट कम्तीमा दुई जना महिलाको अनिवार्य उपस्थिति हुनुपर्नेछ। यस्तै, प्रदेशमा रहेको जनसंख्याको बनोटका आधारमा गण्डकी र कोशी प्रदेशबाट एक-एक जना जनजाति अनिवार्य गरिएको छ भने सुदूरपश्चिम र कोशी प्रदेशबाट एक-एक जना दलितको प्रतिनिधित्व अनिवार्य हुनुपर्नेछ। लुम्बिनी प्रदेशबाट एक थारू र मधेस प्रदेशबाट मधेसी दलित अनिवार्य हुने गरी समावेशिताको सिद्धान्तलाई विधानमा समेटिएको छ।
पार्टीभित्र समायोजनको भावनालाई सम्बोधन गर्नका लागि सभापतिलाई मनोनयनको अधिकार थप गरिएको पराजुलीले जानकारी दिए। विधानले वरिष्ठ नेता स्वतः केन्द्रीय समितिमा रहने व्यवस्थासमेत गरेको छ। चितवनमा आइतबार उद्घाटन भएको रास्वपाको महाधिवेशनको बन्दसत्र आज सोमबार हुँदैछ। चितवन उद्योग संघको प्रदर्शनी केन्द्रमा हुने बन्दसत्र सकिएपछि भोलिपल्ट मंगलबारबाट निर्वाचन प्रक्रिया अगाडि बढ्नेछ।
























