बागमती प्रदेश बुद्धिचालमा ललितपुर टिम विजेता


हेटौंडा, असार ७ । प्रदेश खेलकुद विकास परिषद्, बागमती प्रदेशद्वारा आयोजित तिन दिन सञ्चालन भएको बुद्धिचाल प्रतियोगितामा ललितपुर जिल्ला टिम च्याम्पियन बन्न सफल भएका छन्। क्लासिकल, र्यापिड तथा ब्लिट्ज् बुद्धिचाल खेल पुरुष तथा महिला तिन विधामा ६ स्वर्ण, ६ रजत र ६ काश्य पदक मध्ये ललितपुर जिल्लाले २ स्वर्ण २ रजत पदक जित्दै टिम च्याम्पियन बनेका छन्।
ललितपुर जिल्लाले पुरुष क्लासिकल र रापिड विधामा १-१ स्वर्ण, ब्लिट्ज् १ रजत र महिला र्यापिड १ रजत प्राप्त गरि २ स्वर्ण २ रजत पदक सहित टिम च्याम्पियन बनेका छन्। यस्तै चितवन जिल्ला टिम उपविजेता बनेका छन्। यस क्रममा महिला तर्फ क्लासिकल र र्यापिड विधा तर्फ १-१ स्वर्ण पदक जित्न सफल भएका छन्।
यसैगरी काठमाडौं जिल्लाले प्रतिस्पर्धामा तृतीय स्थान हासिल गरेका छन्। काठमाडौं जिल्लाले महिला ब्लिट्ज १ स्वर्ण, १ रजत र १ काश्य पदक प्राप्त गरेका छन्। स्पर्धामा काभ्रे जिल्लाले चौथो स्थान हासिल गर्दै पुरुष तर्फको ब्लिट्ज् १ स्वर्ण, क्लासिकल १ रजत पदक प्राप्त गरेका छन्। मकवानपुर जिल्लाले पुरुष र्यापिड तर्फ १ रजत, धादिङ जिल्लाले महिला ब्लिट्ज् १ रजत पदक जितेका छन्।
यस्तै भक्तपुर जिल्लाले पुरुष तर्फ र्यापिड १, ब्लिट्ज् १ र महिला तर्फ ब्लिट्ज् १ पदक प्राप्त गरे। दोलखा जिल्लाले क्लासिकल पुरुष तर्फ १ काश्य पदक र रामेछाप जिल्लाले महिला तर्फ १ काश्य पदक हासिल गर्न सफल बनेका छन्। बागमती प्रदेश खेलकुद विकास परिषद् बुद्धिचाल खेल संयोजक संगीत श्रेष्ठको सभापतित्वमा पुरस्कार वितरण तथा समापन समारोह हेटौंडा पार्टी पालेसको सभाहलमा सम्पन्न भएको छ। प्रमुख अतिथि बागमती प्रदेश सांसद मा. एकालाल श्रेष्ठले पुरुष विधातर्फ काभ्रेका शैलेन्द्र न्यौपाने र महिला विधा तर्फ चितवनका लक्ष्मी कँडेललाई उत्कृष्ट खेलाडीवाट सम्मान गरेका छन्।
पूर्वमन्त्री मा. एकालाल श्रेष्ठले स्वर्णपदक विजयी ललितपुर, रजतपदक विजयी चितवन तथा काश्यपदक विजयी काठमाडौंका खेलाडीहरुलाई पुरस्कार वितरण गरेका छन्।























