नेपाली ‘डायस्पोरा’लाई मातृभूमिमा लगानी गर्न आग्रह


वासिङ्टन डिसी । अमेरिकामा रहेका नेपालीलाई नेपालका तुलनात्मक लाभका क्षेत्रमा लगानी गरी प्रतिफल प्राप्त गर्न यहाँस्थित नेपाली दूतावासले आग्रह गरेको छ ।
‘नेपाली डायस्पोरा र नेपालको समृद्धि, व्यापार, लगानी र नवप्रवर्तनमा चुनौती र अवसर’ शीर्षकमा दूतावासले आज यहाँ आयोजना गरेको छलफलमा कार्यवाहक राजदूत शरद्राज अर्यालले मातृभूमिको उन्नयनका निम्ति पुँजी परिचालन गर्न अनुरोध गरेका हुन् ।
महावाणिज्यदूत लक्ष्मण खनालले नेपालमा सूचना प्रविधि, पर्यटन र ऊर्जा क्षेत्रबाट उच्च प्रतिफल प्राप्त हुने जानकारी दिँदै प्रवासी नेपालीले ती क्षेत्रमा उपलब्ध लगानीका अवसर गुमाउन नहुनेमा जोड दिए ।
उद्यमी लोक तिवारीले अमेरिकामा विभिन्न पेशा र व्यवसायमा रहेका नेपालीले आफ्नो सीप र अनुभवलाई नेपालको विकासमा उपयोग गर्नपर्छ भन्दै नेपाललाई प्राप्त विप्रेषण उत्पादनशील क्षेत्रमा लगानी गर्न सुझाए ।
























