राजनीति

रास्वपा सभापति उमेदवार बन्न ५१ हजार शुल्क र ५१ समर्थक आवश्यक

नवलपुर टुडे
२०८३ असार ६ | मध्यान्ह ०९:०३ बजे

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को सभापति पदमा उमेदवारी दिन ५१ हजार रुपैयाँ शुल्क तोकिएको छ । साथै, एक प्रस्तावक र ५१ समर्थक (हस्ताक्षर संख्या) आवश्यक हुनेछ ।

उमेदवारका प्रस्तावक र समर्थक बस्ने पार्टी सदस्यका नाम महाधिवेशन प्रतिनिधि सूचीमा हुनुपर्ने व्यवस्था पनि गरिएको छ । रास्वपाको केन्द्रीय निर्वाचन आयोगले पार्टी पदाधिकारी र सदस्य पदमा उमेदवार बन्न चाहनेका निम्ति आवश्यक मापदण्ड निर्धारण गरेको हो ।

आयोगले सभापतिबाहेक पार्टीका अरू पदाधिकारीमा उमेदवार बन्न ४१ हजार रुपैयाँ शुल्क तोकेको छ । साथै, प्रस्तावक एक र २१ समर्थक हुनुपर्नेछ ।

केन्द्रीय सदस्यमा उमेदवार बन्न २१ हजार रुपैयाँ शुल्क तोकिएको छ । साथै, प्रस्तावक एक र २१ समर्थक हुनुपर्नेछ ।

यसबाहेक तोकिएका अरू कागजातसहित उमेदवारी दिन सकिने आयोगका प्रमुख भुवन केसीले जानकारी दिए ।

 

कमेन्टहरु