पर्वतमा नदीजन्य पदार्थ उत्खनन्मा तीन महिना रोक


पर्वत । पर्वत जिल्लाभर नदी तथा खानीजन्य पदार्थ उत्खननका लागि तीन महिना रोक लगाइएको छ। नदीजन्य तथा खानीजन्य पदार्थ जिल्ला अनुगमन समितिले असार १ गतेदेखि लागु हुने गरी भदौ मसान्तसम्म उत्खनन रोक्ने निर्णय गरेको गरेको हो । अनुगमन समितिले जिल्लाका सातवटै पालिकामा पत्राचार गरी आआफ्नो क्षेत्राधिकारभित्र रहेका नदी, खोला वा अन्य खानीबाट ढुङ्गा, बालुवा, गिटीलगायत पदार्थ उत्खनन् नगर्न पत्राचार गरेसँगै स्थानीय तहले रोक लगाएका हुन्।
नदीजन्य तथा खानीजन्य पदार्थको उत्खनन तथा सङ्कलन स्वीकृत मापदण्ड वातावरणीय प्रभाव मूल्याङ्कन प्रचलित कानुन बमोजिम मात्र गर्ने, अवैध उत्खनन, अवैध सङ्कलन तथा अनाधिकृत ओसारपसार पूर्णरूपमा नियन्त्रण गर्न पत्राचार गरिएको प्रमुख जिल्ला अधिकारी लक्ष्मीप्रसाद पौडेलले बताए।
पालिकाले नदीजन्य खानीजन्य पदार्थको उत्खनन र सङ्कलन गरिने क्षेत्र स्वीकृत वातावरणीय अध्ययन प्रतिवेदनले तोकेको स्थान र क्षेत्रमा कार्ययोजना तयार गरी गाउँ र नगरपालिकाबाट स्वीकृत गरेर मात्र गर्न पाउने जिल्ला समन्वय अधिकारी बद्री तिवारीले बताए।
उनले तोकिएको क्षेत्रमा स्वीकृत परिणामभन्दा बढी उत्खनन र सङ्कलन हुन नदिन स्वीकृत दिइएको क्षेत्रमा सम्बन्धित गाउँनगरपालिकाले अनुगमन गर्ने र उत्खनन तथा सङ्कलनको अभिलेख राख्न आग्रह गरिएको बताए ।
पूर्वस्वीकृति नलिई नदी तथा खोला किनार तथा छेउछाउमा कुनै पनि प्रकारका मेसिन तथा उपकरण (एक्साभेटर, ट्रिपर, ट्याक्टर आदि) राख्न तथा प्रयोग गर्न नपाइने उल्लेख गरिएको छ।
नदीजन्य पदार्थ सङ्कलन, ढुवानी तथा बिक्री–वितरणका कार्यसमेत नगर्न कुश्मा नगरपालिकाले सरोकारवाला सबैलाई आग्रह गरेको छ । कुश्मा नगरपालिकाले सूचनाको उल्लङ्घन गरी उपकरण प्रयोग गर्ने वा नदीजन्य सामग्री सङ्कलन गरेको पाइएमा प्रचलित कानुन बमोजिम कारबाही गरिने चेतावनी दिएको छ।
नगरपालिकाले वर्षायाममा सम्भावित प्राकृतिक विपद् न्यूनीकरण, जनधनको सुरक्षा तथा नदी प्रणालीको संरक्षणका लागि उक्त व्यवस्था लागू गरिएको जनाएको छ। यस निर्णयसँगै निर्माण व्यवसायी तथा नदीजन्य सामग्री व्यवसायमा संलग्न पक्षले वैकल्पिक व्यवस्थापनमा ध्यान दिनुपर्ने अवस्था सिर्जना भएको छ।
पर्वतमा कालीगण्डकी नदी, मोदीखोला, रतीखोला, पातीखोला, लमाएखोला, मल्याङ्दी खोला, सेतीखोलालगायत ठाउँहरुबाट नदीजन्य बस्तु उत्खनन् हुँदै आएको छ।






















