बुद्धिचालका शीर्ष खेलाडी उपाधि नजिक


दमक, असार ४ । राष्ट्रिय खेलकुद परिषदद्वारा गठित प्रतियोगिता सञ्चालन समितिको रोहबरमा जेठ ३१ गते देखि चलिरहेको २६ औं पुरुष तथा ११ औं महिला राष्ट्रिय बुद्धिचाल ९ चरणका खेल सम्पन्न भएका छ। प्रतिस्पर्धामा वर्तमान राष्ट्रिय च्याम्पियन एफएम रुपेश जैसवाल ८.५ अंक र महिला राष्ट्रिय उपविजेता कृतिसरा अधिकारीले ७.५ अंक बनाउदै उपाधि नजिक पुगेका छन्। २६ औं पुरुष राष्ट्रिय खेल तर्फ काठमाडौका शीर्ष २०७६ रेटेड रुपेश जैसवालले ८ जीत तथा १ बराबरी खेल पस्केर स्पष्ट २ अंकको अग्रता कायम गरेका छन्। पाँचथरका २०६१ रेटेड खेलाडी रिसोन थापा ६.५ अंक जोडेर दोस्रो स्थानमा छन्।
दोलखाका १९४० रेटेड आशिष् फुयाल, काठमाडौका २०३४ रेटेड सिएम पुरुषोत्तम सिलवाल र झापाका २०१९ रेटेड सुश्रुत दहाल ५.५ अंक टाइब्रेक आधारमा शीर्ष ५ तिर अग्रसर छन्। झापाका १९४४ रेटेड राजन सुवेदी, ज्वाला ईम्बुङ, सुनसरीका मुहान नरसिंह श्रेष्ठ, ललितपुरका १९४८ रेटेड एआईएम अभीक शाह, खोटाङका १९६९ रेटेड धिरेन राई, काठमाडौका २००२ रेटेड सिएम पुरुषोत्तम चौलागाईं र ललितपुरका १९२० रेटेड कमल श्रेष्ठ क्रमशः लामबद्ध छन्। ११ औं महिला राष्ट्रिय खेल तर्फ शीर्ष १७१० रेटेड झापाका कृतिसराले ७ जीत तथा १ बराबरी खेलि स्पष्ट १ दशमलब ५ अंकको अग्रता बनाएका छन्। राष्ट्रिय बी प्रतियोगिताबाट छनौट भएकी झापाकै १६४८ रेटेड पूजा भण्डारी सोन्नेवर्न वर्जर टाइब्रेक नियमका आधारमा ६ अंक २४.२५ प्वाइन्ट प्राप्त गर्दै दोस्रो स्थानमा छन्।

समान अंक २१.७५ प्वाइन्ट जोडेर काठमाडौंका वर्तमान ओमन च्याम्पियन १६६६ रेटेड सिन्दिरा जोशी तृतीय स्थानमा छन्। प्रतिस्पर्धामा काठमाडौंका १५३८ रेटेड एञ्जल महर्जन, १५७२ रेटेड झापाका प्रिया क्षेत्री र काठमाडौका १६५२ रेटेड विनिता कपाली समान ५.५ अंक जोडेर शीर्ष पाँचमा अटाउने प्रयासमा छन्।
दोलखाका १४६२ रेटेड निहाना श्रेष्ठ, बाँकेका १७०२ रेटेड ईशा गिरि, ताप्लेजुङका १५४९ रेटेड शुशीला गुरुङ, झापाका १६०३ रेटेड पुनम प्रसाईं र अनरेटेड नुमा सुब्बा प्रतिस्पर्धामा छन्। अन्तिम २ चरणको परिणाम बाकी रहँदा एफएम रुपेशले तेस्रो पटक नेपाल च्याम्पियन बन्ने बाटो लगभग निर्धारण गरिसकेका छन्।
एफएम रुपेश र सिन्दिरा जोशी आगामी सेप्टेम्बर महिना हुन गइरहेको ४६ औं चेस ओलम्पियाड वर्तमान च्याम्पियनको हक प्राप्त गर्दै सहभागीता जनाउने सदस्य राजु ताम्राकारले जानकारी गराएका छन् । ताम्राकारले जारी प्रतिस्पर्धामा शीर्ष चार चार स्थान प्राप्त गर्ने खेलाडीहरु रुपेश र सिन्दिरासँग उज्बेकिस्तानको चेस महाकुम्भमा यात्रा पक्का गर्नेछन् ।























