राजनीति

प्रतिनिधिका अन्तिम नामावली तयारी हुँदै

रासस
२०८३ असार ४ | मध्यान्ह ०४:०३ बजे

चितवन । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को महाधिवेशनमा सहभागी हुने प्रतिनिधिको अन्तिम नामावली तयार गर्ने काम सुरु गरिएको छ ।उक्त पार्टीको पहिलो महाधिवेशन चितवन जिल्लाको भरतपुरमा यही असार ७ देखि ९ गतेसम्म हुने भएकाले निर्वाचनमा मतदान गर्ने प्रतिनिधिको नामावली तयारी हुन लागेको हो ।

केन्द्रीय सङ्गठन विभागका सचिव शङ्कर श्रेष्ठले मधेस प्रदेश र विभिन्न १३ जिल्लामा निर्वाचन हुन नसकेका स्थानमा जिल्ला तदर्थ समितिबाटै प्रतिनिधि चयन गराइने जानकारी दिए । त्यसैगरी, २०७९ को आम निर्वाचनमा उम्मेद्वार भइ निर्वाचित हुन नसकेका प्रत्यक्ष र समानुपातिक उम्मेदवारहरुलाई समेत प्रतिनिधिका रुपमा सहभागी गराइने भएको छ ।

यस्तै पालिका सभापति, पालिकाको अधिवेशनबाट छनोट भएका महाधिवेशन प्रतिनिधि, केन्द्रीय समिति र केन्द्रीय संरचनामा रहेका प्रतिनिधिहरु महाधिवेशन प्रतिनिधिमा रहनेछन् ।

केन्द्रका ३८ विभागका ११ जनाका दरले रहेका समितिका सदस्यहरु महाधिवेशन प्रतिनिधिका रुपमा हुनेछन् । तीन आयोगका ११ जनाका दरले रहेका सदस्यहरु र सल्लाहकार पनि प्रतिनिधिका रुपमा रहनेछन् ।

सङ्घीय नेतृत्व मञ्चका सबै सदस्यहरु, सातै प्रदेशका प्रदेश समिति, प्रदेश विभागका प्रमुख, उपप्रमुख र सचिव, जिल्ला समितिका सभापतिसहित पाँचजना महाधिवेशनका लागि प्रतिनिधि बन्नेछन् ।

विभिन्न जिल्लाका ‘जिल्ला–काठमाडौँ सम्पर्क विभाग’ का प्रमुखहरु, निर्वाचन क्षेत्रका संयोजक र उपसंयोजक पनि प्रतिनिधि रहनेछन्। विभिन्न २५ देशबाट प्रतिनिधिहरु आउने तय भएको छ । ती देशबाट सङ्ख्याका आधारमा तीनदेखि ११ जनासम्म प्रतिनिधि आउने श्रेष्ठले बताए ।

यससँगै केन्द्रीय सभापतिले विशेष निर्णयमार्फत दुईसय जना महाधिवेशन प्रतिनिधि मनोनयन गर्न पाउने व्यवस्था रहेको छ ।विधान र पार्टीको निर्णय अनुसार महाधिवेशनमा सहभागी हुने प्रतिनिधिको सूचि तयार गरिँदै छ । महाधिवेशन प्रतिनिधिको एकिन सङ्ख्या साँझसम्ममा तय हुने उनले बताए ।

यसैसाथ महाधिवेशनमा पर्यवेक्षकका रुपमा सहभागी हुनेहरुको सूची पनि तयार हुँदैछ । महाधिवेशनमा सहभागी हुनका लागि राष्ट्रिय मान्यता प्राप्त दलहरु, विशिष्ट व्यक्तित्व, विदेशी पार्टी तथा अन्य निकायलाई निमन्त्रण पठाउने काम भइरहेको बताइन्छ ।

महाधिवेशनको पहिलोदिन असार ७ गते भरतपुरको गेष्टहाउस मैदानमा उद्घाटन गरिदै छ । ८ र ९ गते मैदान नजिकै रहेको उद्योग सङ्घको प्रदर्शनी केन्द्रमा बन्दसत्र हुनेछ ।

महाधिवेशनले नयाँ नेतृत्व चयन गर्दैछ । पहिलो चरणमा एकजना सभापति र ९९ जना सदस्य चयन गर्दैछ । निर्वाचित सदस्यबाट दोस्रो चरणमा तीन जना उपसभापति, दुई जना महामन्त्री र चार जना सहमहामन्त्रीका लागि निर्वाचन हुने श्रेष्ठले जानकारी दिए ।

कमेन्टहरु