प्रबास

मस्कको एक्सएआई विरुद्धको मुद्दा रोक्न खोज्दैछ ट्रम्प प्रशासन

एजेन्सी
२०८३ असार ३ | मध्यान्ह १२:०३ बजे

वासिङ्टन डीसी । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प प्रशासनले खर्बपति व्यापारी एलन मस्कको कृत्रिम बौद्धिकता कम्पनी एक्सएआई विरुद्ध वातावरणीय मुद्दा दायर हुनबाट रोक्न खोजिरहेको सञ्चारमाध्यामहरुले जनाएका छन् । सम्बन्धित विद्युत् परियोजना रोक्ने प्रयासले राष्ट्रिय सुरक्षामा असर पार्न सक्ने दाबी ट्रम्प प्रशासनले गरेको छ ।

यस हप्ता दायर गरिएको अदालतको निवेदनमा अमेरिकी न्याय मन्त्रालयले टेनेसी राज्यको मेम्फिसमा बन्न लागेको २० अर्ब डलरको कोलोसस–२ डाटा सेन्टरलाई विद्युत् आपूर्ति गर्न बनाइएका दर्जनौँ प्राकृतिक ग्यास टर्बाइन अवैध रूपमा सञ्चालन गरिएको भन्ने आरोपसम्बन्धी मुद्दा खारेज गर्न माग गरेको हो ।

यो मुद्दा अमेरिकी अश्वेत नागरिक अधिकार संगठन नेसनल एसोसिएसन फर द एडभान्समेन्ट अफ कलर्ड पिपल (एनएएसीपी) ले अप्रिलमा दायर गरेको थियो । सन् १९६३ को स्वच्छ वायु ऐनअन्तर्गत दायर गरिएको उक्त मुद्दामा एक्सएआईले आवश्यक अनुमति नलिई टर्बाइन निर्माण तथा सञ्चालन गरेको आरोप लगाइएको छ ।

एनएएसीपीका अनुसार मिसिसिपी राज्यको साउथहेभेन क्षेत्रमा रहेका ती टर्बाइनहरूले सयौँ हजार बासिन्दालाई हानिकारक प्रदूषणको जोखिममा पारेका छन् । प्रदूषणका कारण दम, श्वासप्रश्वाससम्बन्धी रोग, मुटुसम्बन्धी समस्या तथा केही प्रकारका क्यान्सर बढ्न सक्ने दाबी गरिएको छ ।

मुद्दामा प्रभावित क्षेत्रका बासिन्दामध्ये अश्वेत समुदायको अनुपात राष्ट्रिय औसतभन्दा धेरै रहेको उल्लेख गरिएको छ । सोमबार अमेरिकी जिल्ला अदालतमा दायर गरिएको निवेदनमा न्याय मन्त्रालयले एनएएसीपीको कदमले कृत्रिम बौद्धिकता नवप्रवर्तनका लागि आवश्यक ऊर्जा आपूर्ति बन्द गराएर राष्ट्रिय, आर्थिक तथा ऊर्जा सुरक्षामा खतरा उत्पन्न गर्ने तर्क गरेको छ ।

निवेदनमा अमेरिकी संविधानअनुसार नागरिक जरिवाना माग्ने अधिकार कार्यकारी निकाय अर्थात् सरकारसँग मात्र रहेको र कुन अवस्थामा कारबाही आवश्यक छ वा छैन भन्ने निर्णय गर्ने अधिकार पनि सरकारकै भएको दाबी गरिएको छ ।

निजी संस्थाहरूले वातावरणीय कानुन प्रयोग गरेर राष्ट्रिय सुरक्षा कमजोर पार्ने प्रयास गर्दा सरकार चुप लागेर नबस्ने न्याय मन्त्रालयको वातावरण तथा प्राकृतिक स्रोतसम्बन्धी शाखाका प्रमुख अभियोजक एडम गुस्ताफ्सनले बताए ।

एक्सएआई मस्कको अन्तरिक्ष अन्वेषण कम्पनी स्पेसएक्सको सहायक कम्पनी हो । कम्पनीले यस विषयमा कुनै प्रतिक्रिया जनाएको छैन ।

कमेन्टहरु