इजरायल–लेबनान सीमामा हिंसा उल्लेखनीय रूपमा घट्यो


तेल अभिभ । इजरायल–लेबनान सीमामा सप्ताहान्तको तुलनामा हिंसा र गोलीबारीको स्तर उल्लेखनीय रूपमा घटेको संयुक्त राष्ट्रसंघ (यूएन)ले जनाएको छ । यूएनले अमेरिका–इरानबिच भएको ढाँचागत सम्झौताले लेबनानको अवस्थामाथि सकारात्मक प्रभाव पारेको पनि बताएको छ ।
लेबनानमा तैनाथ संयुक्त राष्ट्रसंघीय शान्ति मिसन युनिफिलका अनुसार सोमबार इजरायली रक्षा बल (आईडीएफ)ले लेबनानी हवाई क्षेत्रमा ३८ पटक उल्लङ्घन रेकर्ड गरिएको छ । यो संख्या आइतबारको ८३ को तुलनामा निकै कम हो ।
पछिल्ला चार दिनमा आश्रयस्थलमा बसिरहेका विस्थापित व्यक्तिको संख्या करिब १० हजारले घटेको लेबनानी अधिकारीहरूलाई उद्धृत गर्दै दुजारिकले बताए । उनका अनुसार आइतबारयता हिंसा घटे पनि दक्षिणी लेबनानमा छिटफुट घटनाहरू अझै भइरहेका छन् । यसले स्थानीय बासिन्दाहरूलाई आफ्ना घरको अवस्था बुझ्न वा सुरक्षित रूपमा आवतजावत गर्न कठिनाइ उत्पन्न गरिरहेको छ ।
अमेरिका र इरानबिच शत्रुता अन्त्य गर्न भएको ढाँचागत सम्झौताको पूर्ण पाठ अझै सार्वजनिक गरिएको छैन । वार्तामा लेबनानको विषय प्रमुख विवादका रूपमा रहेको बताइएको छ । इरानले सम्झौताको हिस्साका रूपमा इजरायलले लेबनानबाट आफ्ना सेना फिर्ता गर्नुपर्ने माग राखेको छ । तर इजरायलले दक्षिणी लेबनानमा आफ्नो सैन्य उपस्थिति कायम राख्ने र इरान समर्थित लेबनानी सशस्त्र समूह हिजबुल्लाह विरुद्धको सैन्य अभियान अन्त्य नगर्ने स्पष्ट पारेको छ ।
























